रुपन्देहीबाट प्रतिनिधि सभामा सत्ता गठबन्धन नील ?


appharu

१० मंसिर २०७९, शनिबार ०८:०६ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । प्रतिनिधि सभातर्फ ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धन नील हुने देखिएको छ । ४ वटा क्षेत्रको मत परिणाम अनुसार सबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भइसकेका छन् । यो समाचार तयार पार्दासम्म मतगणना जारी रहेको रुपन्देही ३ मा पनि गृहमन्त्री समेत कांग्रेसका बालकृष्ण खांणलाई राप्रपाका दीपक बोहराले १५ सय भन्दा धेरै मतले पछाडि पारेका छन् । मतगणनामा रहेका राप्रपाका प्रतिनिधिहरुका अनुसार यहां बोहराले जित्ने निश्चित छ । रुपन्देही १ मा सत्ता गठबन्धनले समर्थन गरेका उम्मेदवार घनश्याम भुसाल नेकपा एमालेका छविलाल विश्वकर्मासंग पराजित भए । क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई पराजित गरे । क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भए । यहां सत्ता गठबन्धनमा रहेको लोसपालाई कांग्रेसले नछाडेपछि छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । जसमा कांग्रेसका प्रमोद यादव शुक्लसंग पराजित भए । क्षेत्र नं ५ मा कांग्रेसका भरत शाहलाई ९ हजार बढी मतान्तरले हराउंदै एमालेका बासुदेव घिमिरे विजयी बने । यसरी सत्ता गठबन्धनका ६ दल र राष्ट्रिय जनमुक्ति समेत ७ दलको गठबन्धनलाई एमाले–राप्रपिा र जसपाको तालमेलले निल बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्