जोखिमबाट बच्न तीन जिल्लाका ९ सहकारी एउटै भए


appharu

१८ मंसिर २०७९, आईतवार ०८:२० मा प्रकाशित

टि.आर. शर्मा
बुटवल, १८ मंसिर । सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि सम्भावित जोखिमबाट बच्न रुपन्देही,नवलपरासी र कपिलवस्तुका नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्ज ) भएर एउटै भएका छन् । एकीकरण हुनेहरुमा एउटा वचत तथा ऋण सहित ७ वटा वहुउद्देश्यीय सहकारी रुपन्देहीका हुन् भने नवलपरासी र कपिलवस्तुका एक–एक वटा वहुउद्देश्यीय हुन् । ९ वटा मध्ये बुटवलको आगन्तुक वचत तथा ऋण सहकारी संस्था हो भने बांकी सबै वहुउद्देश्यीय हुन् । सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्ने गरी प्रस्तावित नाम सहित यी सहकारीहरु एकीकरण भएका हुन् । एकीकरण हुने सहकारीहरुमा भैरहवाको सार्थक र जनप्रिय, बुटवलका शाइन, उपदेश, उपकार र वरदान बहुउद्देश्यीय सहकारी संस्था हुन् भने कपिलवस्तु चन्द्रौटाको शुभ सन्देश र पश्चिम नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । सहकारी संस्थाका नियामक निकायका पदाधिकारीको रोहवरमा ९ वटै सहकारीका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार तिलोत्तमाको ड्राइभरटोलमा एक कार्यक्रमबीच एकीकरण गरिएको हो ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपि उप्रेतीले सहकारी क्षेत्रमा भएका खराबीका कारण मात्र नभई यसमा अन्य धेरै तत्वहरु समावेश रहेको बताए । सरकारकै कारण देशमा आर्थिक संकट आएको र त्यसको बाछिटा वित्तीय संस्थाहरुमा देखिन थालेको उनले बताए ।

राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले एकीकरणले संस्था दीगो हुने र नया उर्जा थप्ने बताए । राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटाले सहकारीको आधारभुत मूल्य मान्यतालाई आत्मसाथ गरेर अघि बढे समस्या नआउने बताए ।
नेपाल बचत तथा ऋण सहकारी संस्थाका संचालक सन्दिप सापकोटाले देशको आर्थिक मन्दीका कारण सहकारी समस्यामा गुज्रिएको बताए ।
प्रस्तावित सिद्धबाबा वहुउद्देश्यीय सहकारी संस्था तदर्थ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुने छ । यस्तै कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुने बताइएको छ ।

एकीकरण पश्चात संस्थामा १२.६९ प्रतिशत तरलता कायम हुने जनाइएको छ । यस्तै अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ भने एकीकरण पश्चत शेयर सदस्यहरुको संख्या २२ हजार ४ सयस १३ जना रहने छन् ।

साविकको आगन्तुक सहकारी संस्थाका अध्यक्ष राजु घर्तीले एउटै प्रकृतिका सहकारीहरु धेरै संख्यामा सञ्चालनमा आउंदा लगानी गर्ने बजारको समस्या भएकाले दीगोरुपमा सञ्चालन हुन मर्जरको विकल्प रोजेको बताए । उनले ९ वटा सहकारी संस्थाको अलग अलग वार्षिक सञ्चालन खर्च झण्डै ३ करोड हुने तर एकीककरण हुंदा सञ्चालन खर्च कम भई संस्थालाई ठूलो फाइदा हुने बताए । प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्रालयको खुला र फितलो नीति नियम र अनुगमन शुन्यताका कारण वहुउद्देश्यीय सहकारी सजिलै स्थापना गर्न पाइने भएकाले पनि पछि समस्या आउने गरेकाले सरकारले नै कडाई गर्नुपर्ने घर्तीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्