विकास निर्माणका समस्याबारे सांसद विनोद चौधरीले गरे कर्मचारीसंग छलफल


appharu

१९ मंसिर २०७९, सोमबार १७:२४ मा प्रकाशित

पालिकापत्र, बुटवल । नवलपरासी पश्चिम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुसंग जिल्लामा सञ्चालित विकास आयोजनाबारे छलफल गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारबाट जिल्लामा सञ्चालित सानादेखि राष्ट्रिय गौरवको आयोजनाका बारेमा तिनीहरुको अवस्था, समस्या र समाधानको उपायबारे राय सुझाव लिन सांसद चौधरीले छलफल गरेका हुन् ।
कर्मचारीहरुको तर्फबाट समस्याहरु राख्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काममा ढिलाई हुंदा दुर्घटनाको जोखिम बढेको र यात्रा गर्न कठिनाई भएको, गण्डक पावर हाउसबाट १५ मेगावाट विद्युत उत्पादन हुनुपर्नेमा ३ मेगावाट मात्र भइरहेको, हुलाकी राजमार्ग निर्माण अलपत्र परेको,राष्ट्रपति चुरे संरक्षणको काम प्रभावकारी हुन नसकेको,सुस्ता क्षेत्रको समस्या, किसानले माग गरे अनुसार रासायनिक मल उपलब्ध गराउन नसकिएको लगायतका समस्याहरु राखेका थिए । सो क्रममा नव निर्वाचित सांसद चौधरीले पुर्वाधार निर्माणका कामहरु गुणस्तरीय र समयमै सम्पन्न गर्न कर्मचारीको सहयोग आवश्यक पर्ने बताएका थिए । उनले जिल्लाका समस्याहरु आफूले संसद वैठकमा र सरकारसमक्ष राख्ने बताएका थिए ।
यस्तै सांसद चौधरीले राष्ट्रिय भुिम आयोगको केन्द्रिय टोलीसंग पनि छुट्टै छलफल गरेका छन् । चौधरीले आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला सहितको टोलीसंग छलफल गरी भूमिहीन, सुकुम्वासी र अव्यस्थित बसोबासीलाई जतिसक्दो छिटो जग्गा धनी पुर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । पश्चिम नवलपरासीमा करिव १० हजार अव्यस्थित तथा सुकुम्वासी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्