भैरहवामा मंसिर २३ देखि लुम्बिनी राष्ट्रिय महोत्सव, तीन लाख दर्शक र १० करोड कारोबार लक्ष्य


appharu

२१ मंसिर २०७९, बुधबार १८:५५ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । सिद्धार्थ उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ । कोरोना महामारीका कारण भैरहवामा तीन वर्षदेखि मेला सञ्चालन हुन नसकेको अवस्थामा कोरोना महामारीपछिको यो पहिलो मेला हो । मेला स्थल भैरहवाको अञ्चलपुरमा पत्रकार सम्मेलन गर्दै संघले महोत्सवका स्टल निर्माण, बाल उद्यान,सचिवालय लगायतका तयारीका कामहरु पुरा भएको जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका उत्पादनसहित स्वदेशी तथा विदेशी उद्योगका ३ सय बढी स्टल रहने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । कोरोना महामारी र आर्थिक मन्दीका कारण शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । महोत्सवमा लुम्बिनी प्रदेशको अल्लो उद्योगका उत्पादनदेखि कर्णाली प्रदेशको दाल, गेडागुडीका साथै मुस्ताङको स्याउ,विद्युतीय गाडी समेत उपलब्ध गराइने उनले बताए । यस्तै दुना टपरी र बत्ती काड्ने प्रतियोगिता, अचार बनाउने तालिम,कुस्ती र ब्याडमिन्टन प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणको रुपमा रहने अध्यक्ष न्यौपानेले बताए । ‘महोत्सवले उद्योगी–व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनका साथै उद्यमशीलताको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन पनि महोत्सवले टेवा पु¥याउने छ’–न्यौपानेले भने ।

पत्रकार सम्मेलनमा संघका पुर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले महोत्सवमा गुणस्तरीय वस्तु सुपथ मुल्यमा उपलब्ध गराई भारतीय बजार भन्दा नेपालमै सस्तो पाइन्छ भन्ने सन्देश दिने प्रयास गरिने बताए । पुस ४ गतेसम्म चल्ने महोत्सवमा ३ लाख दर्शकलाई अवलोकन गराई १० करोड रुपैयां बराबरको कारोबार गर्ने लक्ष्य रहेको संघका महासचिव विजय पाण्डेले बताए । महोेत्सव सञ्चालन गर्न जग्गा र स्थायी संरचना नहुंदा आयोजकले वर्षेनी ४० देखि ५० लाख अनुत्पादक खर्च गर्नुपर्ने वाध्यता रहेकाले जग्गा र स्थायी संरचना निर्माणमा स्थानीय,प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने महासचिव पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्