प्रभु बैंकमा गाभिने भयो सेन्चुरी


appharu

२१ मंसिर २०७९, बुधबार २२:४६ मा प्रकाशित

टि.आर. शर्मा
पालिकापत्र,बुटवल । आर्थिक मन्दीका कारण बैंकहरुले कर्जा प्रवाह गर्न नसकिरहेका बेला पुंजी बृद्धिका लागि मर्जरमा जाने क्रम जारी छ । यसैको पछिल्लो उदाहरण हो– प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ती (एक्विजिसन) गर्ने निर्णय । प्रभुले सेन्चुरीलाई गाभ्ने सम्वन्धि सैद्धान्तिक सहमति भएर सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । दुवै बैंकको एकीकृत कारोबार पुस मसान्तसम्म गर्ने तय भएको छ । उक्त सम्झौतपत्रमा प्रभु बैंकका तर्फबाट संयुक्त प्राप्ती समितिका संयोजक रमेश सिंह खड्का र सेन्चुरी बैंकका तर्फबाट संयुक्त प्राप्ती समितिका सदस्य मनबहादुर राइले हस्ताक्षर गरेका छन् ।

दुवै बैंकले १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन्। प्रभु बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच हस्ताक्षर सम्पन्न भएको हो । सम्झौता अनुसार मर्जर पछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ भने ७ सदस्यीय संचालक समितिमा प्रभुका तर्फबाट ४ र सेन्चुरीबाट ३ जनाको प्रतिनिधित्व हुनेछ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हालको प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले पाउने छन । बरिष्ठ नायब प्रमुख कार्यकारीको जिम्मेवारी भने हालको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई दिने सम्झौता भएको हो ।

हाल प्रभु बैंकको चुक्ता पुजी १२ अर्ब ७० करोड र सेन्चुरीको ९ अर्ब ५५ करोड छ । मर्जर प्रकृयाले पुर्णता पाएपछी प्रभु बैंकको चुक्ता पुजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ भने कुल पुजीकोष ३१ अर्ब ७१ करोड रुपैयाँ हाराहारी पुग्ने देखिएको छ ।

गत २०७९ भदौ १५ गतेको बसेको राष्ट्र बैंकका सञ्चालक समितिको बैठकले मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो । दुवै बैंकको गत वर्षको वित्तीय विवरण स्वीकृत भइसकेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेसँगै प्रभुु र सेन्चुुरीले गत वर्षको नाफाबाट लाभांश पनि घोषणा गरिसकेका छन्।
समान प्रकृतिका बैंकहरुको संख्या धेरै र कार्यक्षेत्र एउटै हुंदा अस्वस्थ प्रतिस्पर्धा, सञ्चालन खर्च बढी र प्रतिस्पर्धामा टिक्न कठीन हुने भएकाले मर्ज हुने वा एकले अर्कोलाई प्राप्ति गरेर बलियो संस्था बनाउने विकल्प अनुसार सेन्चुरीलाई प्राप्ति गरेर अघि बढ्ने निर्णय भएको प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्