देवदहमा माघ अन्तिम साता औद्योगिक व्यापार मेला,कृषि उत्पादनलाई निःशुल्क स्टल


appharu

४ पुष २०७९, सोमबार १८:१३ मा प्रकाशित

पालिकापत्र,देवदह । रुपन्देहीको देवदहमा माघ अन्तिम हप्तादेखि संचालन हुने सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा कृषिजन्य उद्योग ब्यवसायलाई निःशुल्क स्टल दिइने भएको छ । उद्योग व्यापार संघ देवदहको आयोजना तथा देवदह नगरपालिकाको सहआयोजनामा देवदह मण्डप घोडाहामा माघ २७ गतेदेखि फागुन १० गतेसम्म हुने महोत्सवमा कृषि पेशामा आवद्ध किसान, कृषि सहकारी र कृषक समुहको प्रोत्साहनका लागि निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएका हुन् ।
आयोजक उद्योग व्यापार संघले सोमबार देवदहमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मेघराज ढकालले महोत्सवमा रहने २५० बढी स्टल मध्ये स्थानीय कृषिजन्य उत्पादन प्रदर्शन र बिक्रीवितरणका लागि निःशुल्क स्टल दिइने बताए ।
स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण गर्दै देवदहलाई कृषि र पर्यटनका माध्यमबाट चिनाउन र बिकास गर्न टेवा पुराउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष ढकालले बताए । महोत्सवमा तरकारी, फलफुल, माछा लगायत कृषि उपज, दुग्धजन्य उत्पादन, बीउ बिजन तथा मलखाद, कृषि औजार तथा यन्त्र, जडिबुटी तथा औषधी, पर्यटन, शैक्षिक संस्था, छालाजन्य सामानका स्टलहरु रहने उनले बताए ।
महोत्सवमा १ लाख दर्शक भित्राई १० करोड रुपैयां बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव थानेश्वर लम्सालले बताए । संस्थाका संस्थापक अध्यक्ष गोविन्द ठडराईले आफुहरुले युवाहरुलाई उद्यमी बनाउने दिशामा महोत्सवलाई केन्द्रित गर्ने प्रयास गरेको बताए ।
टिकट बिक्रीको केही अंश पर्यटन प्रवद्र्धनमा लगानी गर्ने संघले जनाएको छ । महोत्सवमा औद्योगिक एवं पर्यटकीय सूचना केन्द्रको स्थापना, औद्योगिक, कृषि तथा पर्यटन सम्बन्धी गोष्ठी, लोकदोहोरी गीत प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति,फेसन शो, कुस्ती लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ । देवदहमा २०७१ सालमा पहिलो पटक महोत्सव आयोजना गरेको उद्योग व्यापार संघको आयोजनामा हुन लागेको यो तेस्रो महोत्सव हो ।

प्रतिक्रिया दिनुहोस्