औद्योगिक प्रदर्शनीमा पर्यटन गोष्ठी : पर्यटन क्षेत्रबाट लाभ लिन नसकेको गुनासो


appharu

१४ पुष २०७९, बिहीबार १९:२० मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपालको समग्र विकासको प्रमुख आधारका रुपमा रहेको पर्यटन उद्योगलाई सहि रुपमा उपयोग गर्ने नीतिी तथा कार्ययोजनाको अभाव एवं प्रचार प्रसार गर्न नसक्दा त्यसबाट हामीले लाभ लिन नसकेको बताइएको छ ।
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा वहिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजित पर्यटन उद्योगः विकास र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सो क्षेत्रका अगुवाहरुले सो धारणा व्यक्त गरेका हुन् ।
उनीहरुले पर्यटन क्षेत्रलाई सैद्धान्तिक रुपमा आर्थिक विकासको प्रमुख आधार बताउँदै आएको भए पनि त्यसलाई उपयोग गर्ने ठोस नीति बनाउन नसकेको गुनासो गरेका थिए । पर्यटनको प्रचुर सम्भावना मात्र होइन नेपालमा पर्यटन क्षेत्रमा प्रशस्त अवसरहरु रहेको छ तर त्यसलाई ठिक ढंगले उपयोग गर्ने काम हुनै सकेन उनीहरुको भनाई थियो ।
वक्ताहरुले अन्य उद्योगहरुमा कच्चा पदार्थ र ढुवानीको ठुलो लगानी हुने भए पनि पर्यटन उद्योगमा कच्चा पद्धार्थ र ढुवानी आवश्यक नपर्ने भएकाले नेपाली माटोमा पर्यटन उद्योग सबैभन्दा उपयुक्त भएको बताएका थिए ।
कार्यक्रममा नेपालमा अन्य उद्योग सञ्चालनका लागि लगानी महङ्गो पर्ने तर पर्यटन उद्योग सजिलै सफल हुन सक्ने बताउँदै उनीहरुले नेपालको संस्कृति र प्रकृति आफैमा अमुल्य उपहार भएको भन्दै त्यसलाई मार्केटिङ र ब्राण्डिङ गर्न अब ढिला गर्न नहुने सुझाव दिएका थिए ।
कार्यक्रममा पर्यटन उद्योग विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै डा.हरिध्वज राईले पर्यटन व्यवसाय मात्र नभएर विज्ञान पनि भएको बताउनु भयो । उनले नेपालमा पर्यटन विकासका लागि प्राकृतिक उत्पादन, साँस्कृतिक उत्पादन, आर्कोलजिकल साईड, पर्यटन मेला, हेल्थ टुरिसम उत्पादन गर्न सकिने उल्लेख गरे । पर्यटन उद्योगमा लगानी भए पनि नेपालमा पर्यटन उद्योगको मार्केटिङ र ब्राण्डिङ हुन नसकेको उनको भनाई थियो ।
उनले पर्यटनको अन्य कुनै विकल्प नभएको बताउँदै उनले नेपालमा खैरो कपाल र सेतो छालालाई मात्र पर्यटकका रुपमा चिन्ने पृवृत्तिलाई अन्त्य गर्दै प्रतिस्पर्धात्मक लाभको कुरा गर्दा नेपालमा पर्यटनको सम्भावना प्रचुर रहेको बताएका छन् ।
पर्यटन ग्रामिण विकास तथा शहरी विकास मन्त्रालयका सचिव डा.जक्कि मोहमद अन्सारीले उद्योग र पर्यटनको प्रवद्र्घनमा महोत्सवको महत्व रहेको बताउँदै कार्यान्वयन पाटोमा कमजोरीलाई हटाउने गरी लाग्नुपर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेशका पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले चुरेको रेन्ज नै पर्यटन विकासको सम्भावना भएको बताउँदै १२ जिल्लामा गन्तव्य पहिचान गरिरहेको जानकारी दिँदै लुम्बिनी प्रदेश पर्यटनको सम्भावना नै सम्भावना भएको प्रदेश भएको दाबी गर्नु भएको थियो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराईले ईश्युगत रुपमा काम गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुले आआफनो भूमिकालाई बुझ्ने र काम गर्न जरुरी रहेको धारणा व्यक्त गर्नु भयो । बहसलाई केवल बहसमा नराखी अब ब्यवहारमा लैजानु पर्ने उनले बताउनु भयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले पर्यटन क्षेत्रमा लगानी गर्ने र नेपालको पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न चाहेको भए पनि राज्यले पर्यटन मैत्री नीति बनाउन नसकेको बताउनु भएको थियो । उहाँले संघले पर्यटनको क्षत्रेमा काम गर्न प्रतिवद्ध भएको धारणा राख्नु भएको थियो ।
पर्यटन ब्यवसायी माधव नेपालले पर्यटन विकासमा सिद्धान्त धेरै राम्रो भए पनि ब्यवहारमा उतार्न कठिनाई देखिएको बताउनु भयो । धेरै काम गर्न सकिने सम्भावना रहेको भन्दै उनले रामापिथेकसको विकास, पिथेकसको मुर्ति स्थापना गराएर प्रचार गर्ने, कर्णेल उजिरसिहको बिशाल मुर्ति, जितगढीबाट फुलबारीसम्म जाने सुरुङमार्ग जस्ता विषयलाई प्रचार गर्न सके पर्यटनको प्रवद्र्धन हुन सक्ने बताउनु भयो ।
कार्यक्रम संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको संचालन तथा गोष्ठी उपसमितिका संयोजक राजु घिमिरेको स्वागतमा भएको कार्यक्रममा पत्रकार शरण कर्मचार्य, दिनेश पाण्डे, मुकुन्द ज्ञवाली लगायत बोल्नु भएको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्