बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने


appharu

२४ पुष २०७९, आईतवार १९:१० मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्याश गरिएको छ ।
आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्याश गर्नुभयो ।
भवनको शिलान्याश गर्दै उहाँले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।
उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पुर्‍याउनुपर्ने छ’(उहाँले भन्नुभयो ।
नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताउनुभयो ।
निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताउनुभयो ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उहाँले बताउनुभयो ।
बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताउनुभयो ।
उहाँले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्