कपिलवस्तु, भदौ २९ गते । चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागूऔषध सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा एकै दिन चार जना चालक पक्राउ परेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको चेकजाँचका क्रममा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार शंकास्पद २३ जना चालकको पिसाब युरिन एक्रो किटमार्फत परीक्षण गरिएको थियो। परीक्षणका क्रममा चार जनाको रिपोर्ट लापसे पोजेटिभ आएको थियो। यस्तै, एक जना स्कुटर चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी चलाएको भेटिएको प्रहरीले जनाएको छ।
लापसे पोजेटिभ देखिनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ का २५ वर्षीय युवराज खनाल, प्युठानको खलङ्गा–७ का ३८ वर्षीय संजय केसी, रुपन्देहीको कञ्चन गाउँपालिका–५ का २३ वर्षीय लिलबहादुर विक र दाङको राप्ती गाउँपालिका–१ का ३५ वर्षीय कृष्णकुमार गुप्ता रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा चालकसँगै यात्रु र सडकमा हिँड्ने पैदलयात्रुसमेत जोखिममा पर्ने बताउनुभयो। चाडपर्वको समयमा दुर्घटना न्यूनीकरण गर्न लापसे तथा मापसेविरुद्धको चेकजाँचलाई थप कडाइ गरिने उहाँको भनाइ छ।
चाडपर्वमा लामो दूरीका सार्वजनिक सवारी तथा निजी सवारीसाधनको आवागमन बढ्ने भएकाले राजमार्गमा निगरानी बढाइएको प्रहरीले जनाएको छ। लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गरी चेकजाँचलाई निरन्तरता दिइने प्रहरी नायव निरीक्षक राजीव विश्वकर्माले बताउनुभयो।
प्रहरीले सवारी चालकलाई लागूऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।

