शिवको पूजा गर्दै मनाइयो तीज, बाढीपहिरोको पीडाले फिक्का बनायो उत्सव


पालिका पत्र

14 September, 2026 6:29 pm मा प्रकाशित

कपिलवस्तु, २९ भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज शिव–पार्वतीको पूजा आराधना, उपासना र व्रत बसेर मनाइएको छ। पारिवारिक सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्दै महिलाहरूले विभिन्न शिवालयमा पुगेर पूजा गरेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित प्रकटेश्वर महादेव मन्दिर, तौलिहवाको तौलेश्वरनाथ मन्दिर, लक्ष्मणघाटको शिवालय, कपिलधामको शिवालयलगायत स्थानीय मन्दिरमा बिहानैदेखि भक्तजनको उपस्थिति देखिएको थियो। महिलाहरूले शिव–पार्वतीको पूजा गर्दै व्रत बसेर आफ्नो तथा परिवारको सुख–शान्तिको कामना गरेका छन् ।

धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लगेर राखेको र त्यहीँ उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।

संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ। धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर महादेवको पूजा आराधना गरेमा मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ ।

तर, तीजको व्रत अनिवार्य रूपमा निराहार नै बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन्। व्रतका निराहार, जलाहार र फलाहार गरी विभिन्न प्रकार रहेकाले आफ्नो स्वास्थ्य र क्षमताअनुसार व्रत बस्नुपर्ने मान्यता छ । नसक्ने अवस्थामा जल वा फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मत छ ।

यसैबीच, यस वर्ष देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण तीजको परम्परागत रौनक भने विगतका वर्षजस्तो देखिएन। भदौ १० गते आएको बाढी तथा पहिरोले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि धेरै परिवार शोक र पीडामा छन् ।

बाढीपहिरोमा कतिपयले आफन्त गुमाएका छन् भने कतिपयले घरबार तथा जीवनभरको कमाइ गुमाएका छन्। केही परिवार अझै बेपत्ता आफन्तको खोजीमा छन् । आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेका परिवारका लागि यस वर्षको तीज उल्लासभन्दा बढी पीडा र सम्झनाको दिन बनेको छ ।

त्यसैले मन्दिरमा पूजा र व्रतको धार्मिक परम्परा निरन्तर रहे पनि तीजको गीत, नाचगान र उत्सवको माहोल भने धेरै स्थानमा फिक्का देखिएको छ । विपत्तिको पीडाबीच यस वर्षको तीजले उत्सवसँगै दुःखमा परेका परिवारप्रति सहानुभूति, सहयोग र मानवीय एकताको सन्देशसमेत दिएको छ ।

धर्मशास्त्रीय मान्यताअनुसार तीजको व्रत केवल व्यक्तिगत मनोकामना पूरा गर्नका लागि मात्र नभई परिवारको सुख, शान्ति, कल्याण तथा सद्गतिको कामनासँग जोडिएको पर्व हो । त्यसैले यस वर्षको तीजमा उल्लासभन्दा पनि विपत्तिमा परेका परिवारको पीडा सम्झँदै संयमित रूपमा पर्व मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्