शाइन रेसुंगासहित ३ विकास बैंकको नाफा बढ्यो, ५ वटाको घट्यो


appharu

९ माघ २०७९, सोमबार ०८:३८ मा प्रकाशित

पालिकापत्र, बुटवल । राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये अधिकांश बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा समग्रमा २०.९१ प्रतिशतले घटेको हो ।

तर बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक सहित ३ वटा बैंकको नाफा भने बढेको छ । शाइन रेसुंगाले हालै मात्रै बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको जितेको थियो । बैंकको कुशल व्यवस्थापनकै कारण देशको प्रतिकुल अर्थतन्त्रका बीचमा पनि नाफा बढाउन सफल भएको बैंकले जनाएको छ ।

चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफा बढेको हो ।

गत आवको सोही अवधिको तुलनामा शाइन रेसुङ्गाको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बैंकले ६० करोड २४ लख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवको सोही अवधिको तुलनामा गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ थियो ।

ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ । नाफा घटेका ५ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ थियो ।

कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ ।

यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

गत आवमा सांग्रिलाको नाफा २६ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्