चर्को बैंक ब्याजदर घटाउन सांसद घिमिरेको माग


appharu

१ फाल्गुन २०७९, सोमबार ०८:४१ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले बैंक ब्याज दर घटाउन सरकारसंग माग गरेका छन् । प्रतिनिधि सभाको वैठकमा अर्थमन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा एक मिनेट बोल्ने समय पाएका सांसद घिमिरेले चर्को बैंक ब्याज दरका कारण उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै ब्याजदर तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘ ७–८ प्रतिशतमा लिएको ऋणको ब्याज दर अहिले बढेर १७–१८ प्रतिशत पुगेको छ, यसले गर्दा उद्योगी–व्यवसायी ऋण तिर्न नसकी टाट पल्टिने अवस्था छ’–सांसद घिमिरेले भने–‘बैंकहरुले दैनिक दर्जनौ ऋणीको धितो लिलाम चढाएका छन् तर धितो सकार्ने मान्छे पनि छैनन् , यसको निराकरहण कहिले हुने ?’ सांसद घिमिरेले यो विकराल अवस्थाको अन्त्य छिटो गर्न राष्ट्र बैंकले बैंक र ऋणी दुबै पक्षलाई मान्य हुने गरी सम्मानजनक निकास दिनुपर्ने माग गरे ।
सांसदहरुको प्रश्नपछि अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकसंग निरन्तर छलफल भइरहेको र छिटै ब्याज दर घटाउने प्रतिवद्धता व्यक्त गरे ।
पहिलोपटक सांसद भएर संसद वैठकमा बोल्न थालेका घिमिरेले नागरिकका समस्याका विषयमा ठोस ढंगले उठाउन थालेका छन् । यसअघि संसदमा पहिलोपटक बोल्दा घिमिरेले सरकारले किसानलाई समयमा मल,बिउ उपलब्ध गराउनुपर्ने र सिंचाइको उचित प्रबन्ध गर्नुपर्ने माग गर्दै भविष्यमा मल कारखाना स्थापना गर्नुपर्ने धारणा राखेका थिए । उनले आफ्नो खेतमा प्रयोग गर्ने मलको जोहो गर्ने किसानमाथि प्रहरी प्रशासनले गर्ने ज्यादती बन्द गर्नुपर्ने माग समेत संसद वैठकमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्