घरभाडा घटाउन आग्रह गर्दै बुटवलका व्यवसायी


पालिका पत्र

१३ बैशाख २०८०, बुधबार १८:२८ मा प्रकाशित

रुपन्देही । आर्थिक मन्दीको कारण बुटवल बजारमा व्यापार घटेको छ । व्यापार घटेपछि व्यापारीहरूले घरभाडा घटाउन घरधनीहरूसँग आग्रह गर्ने गरेका छन् । सडक निर्माणको अवरोध, बजारमा देखिएको आर्थिक मन्दी तथा कोभिड–१९ को असरका कारण व्यापार घटेको व्यापारीहरू बताउँछन् ।

सहरदेखि गाउँसम्म व्यापार विस्तार भएका कारण पनि सहरमा व्यापार कम भएको कतिपयको बुझाई छ । बुटवलको अमरपथमा पसल गर्ने व्यापारी कुशल थापाले भने, ‘बुटवलको बजारमा पहिले जस्तो व्यापारिक चहलपहल छैन, अहिले त कमाएको नाफा घरधनीलाई भाडा तिर्न मात्र पुग्छ ।’ बजारका व्यापारीहरू पहिले जस्तो उत्साहित नभएको उनको भनाइ छ ।

व्यापारीहरूको मर्का बुझेर बुटवलका एक घरधनी मृगेन्द्रकुमार शेरचनले भने दुई दर्जन व्यापारिक सटरहरुको भाडा घटाइदिएका छन् । व्यापारीहरूको अनुरोधमा शेरचनले २० प्रतिशत सटर भाडा घटाइदिएका हुन् । शेरचनले भने, ‘उनीहरूको आग्रहले भन्दा पनि बजारमा देखिएको आर्थिक मन्दीले गर्दा समस्या देखेर मैले २० प्रतिशत घरभाडा घटाइदिएको हुँ ।’ भाडा घटाइदिएपछि व्यापारीहरू उत्साहित भएको उनले बताए ।

बजारमा घरभाडा चर्को हुने तर त्यस अनुसारको व्यापार हुन छोडेपछि व्यापारीका आग्रह अनुसार यसै साता बुटवल उद्योग वाणिज्य संघले पनि संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको कार्यसमिति बैठकले करार अनुसार वृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको संघका अध्यक्ष उज्ज्वल कसजुले जानकारी दिए ।

संघका महासचिव विमलराज भट्टराईले कोरोना महामारी, आर्थिक मन्दी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार वृद्धि गर्नुपर्ने भाडा दर समेत वृद्धि नगरी यथावत् रूपमा लिँदै आएको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कसजूले उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघबाट पहलको थालनी भएको बताउँदै खस्किँदो अर्थतन्त्र विस्तारै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको जल्दोबल्दो समस्याको रूपमा रहेको खुल्ला सिमानाका, बैंकको चर्को ब्याजदर घटाउन, अर्थतन्त्र सुधारको लागि संघ र महासंघबाट समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही ब्यपार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले पनि आर्थिक मन्दी, बैंकको चर्को ब्याजदर तथा विभिन्न प्रकोपजन्य रोगले गर्दा बुटवलको व्यापार खस्किएको बताए । व्यापारी व्यवसायीलाई राहत दिन घरधनीले पनि समय परिस्थिति बुझेर घर भाडामा सहुलियत दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्