भलवाड, भदौ १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री अमृते सामुदायिक वन उपभोक्ता समूहले बाढी प्रभावित नागरिकका लागि राहत सहयोग प्रदान गरेको छ ।
भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार तथा राहतका लागि सामुदायिक वनले एक लाख रुपैयाँ सहयोग गरेको हो ।
समूहका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनको तर्फबाट उक्त रकम प्रदान गरिएको हो ।
सामुदायिक वनले वन संरक्षण र उपभोक्ताको हितमा मात्रै नभई सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष पौडेलले बताए । उनले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले सामुदायिक वनले आफ्नो तर्फबाट सहयोग गरेको बताए ।
बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा खाद्यान्न, कपडा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता भइरहेका बेला राहत कोषमा गरिएको आर्थिक सहयोगले प्रभावित परिवारको उद्धार तथा राहत व्यवस्थापनमा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमृते सामुदायिक वनले यसअघि पनि सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ । वनबाट प्राप्त स्रोतलाई समुदायको हितमा उपयोग गर्ने उद्देश्यअनुसार शिक्षा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्दै आएको समूहले जनाएको छ ।

