भत्किएको तटबन्ध निर्माण नहुँदा बाँकेका दुई पालिकामा डुबानको त्रास


पालिका पत्र

१४ बैशाख २०८०, बिहीबार १८:२७ मा प्रकाशित

नेपालगञ्ज, वैशाख १४ गते । एक वर्षअघिको बाढीले भत्काएर बगाएको तटबन्ध मर्मतसम्भार र निर्माण कार्य अझैपनि नगरिंदा बाँकेका दुई पालिकाका स्थानीय वासिन्दा डुबानको त्रासमा छन् । एकवर्ष अघि भत्किएको तटबन्ध हालसम्म पनि मर्मतसम्भार नगरिंदा फेरी वर्षा नजिकिएकोले जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीय वासिन्दा डुबानको त्रासमा रहेका छन् ।

वर्षा आउन दुई महिना मात्र बाँकी रहेको भएपनि अझैसम्म भत्किएको राप्ती नदीको तटबन्धको मर्मत सम्भार र पुनर्निमाण नगरिएकोले फेरी पनि बाढीबाट डुबान हुने र आफुहरुको विचल्ली हुने नरैनापुर ६ का स्थानीय अगुवा रामचन्द्र यादवले बताए ।उनले तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा पनि सरकारले ध्यान नदिंदा यस क्षेत्रका वासिन्दामा दिनदिनै त्रास र डरसंगै आक्रोश पनि बढ्दै गएको बताए।

‘‘यस क्षेत्रका बासिन्दालाई भोट बैंक मात्र बुझ्ने गरिएको छ, बर्षाको मौसम आउन दुई महिना मात्र बाँकी छ, तर अहिलेसम्म कसैले तटबन्धका लागि पहल गरेको छैन, गाउँभरि डुबानको त्रास छाईसकेको छ,’’ यादवले भने।

बाँकेको राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा राप्तीसोनारी ७ फत्तेपुर र नरैनापुर ६ गंगापुरका करिव १० हजार मानिसलाई डुबानको उच्च जोखिम रहेको र सयौं विघा खेती योग्य जमिन नष्ट हुने निश्चित रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए । उनले छिट्टै यस तटवन्ध निर्माणको पहल गरि काम अगाडी बढाईयोस् भनी पटक पटक माग गरिएको तर सुनुवाई नभएको बताए ।

उता, लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले पनि सो बाँध तत्काल मर्मत सम्भार गर्न माग गर्दै आफु राजधानी पुगेर प्रधानमन्त्री प्रचण्ड लगायत सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरेर आएको बताइन्।

यसैगरि पुर्वमन्त्री तथा माओवादीका स्थायी कमिटि सदस्य महेश्वरजंग गहतराजले पनि भत्किएको सो तटबन्धको स्थलगत अनुगमन गरेर तत्काल मर्मत गर्न माग गरे। उनले वर्षात अगावै मर्मत गराउन आफुले सक्दो पहल र प्रयास गर्ने जनाउँदै त्यसो नगरिए ठुलो क्षति हुनसक्ने बताए ।

साभार : गोरखापत्र

प्रतिक्रिया दिनुहोस्