बिदेशी काठ आयातले नेपाली वन उद्यम संकटमा

फेनफिट लुम्बिनी प्रदेशको अध्यक्षमा भुसाल


१७ बैशाख २०८०, आईतवार १९:३९ मा प्रकाशित

कपिलवस्तु, बैशाख १७ । बिदेशी काठ आयातले नेपाली वन उद्यम संकटमा परेको सरोकारवालाले बताएका छन् । नेपालमा गत आर्थिक वर्ष ०७८/७९ मा मात्रै १७ अर्ब ८२ करोड ७३ लाख मूल्यका काठ र फर्निचर आयात भएको जनाइएको छ । त्यति ठुलोमात्रामा आयात हुँदा निर्यात भने ७१ करोड ८४ लाखको मात्रै हुने गरेको तथ्यांकमा उल्लेख छ । सो वर्ष स्वदेशी जंगलबाट दुई करोड १२ लाख घनफिट काठ उत्पादन भएको वन तथा वातावरण मन्त्रालय र भन्सार बिभागले उल्लेख गरेको छ ।

नेपालमा पछिल्लो नौ बर्षमा नेपालमा काठ र फर्निचर ६५ अर्ब ८४ करोड ३७ लाख रुपैयाको आयात हुँदा १ अर्ब ९४ करोड ७५ लाख निर्यात भएको छ । यस्तै नेपालले गत आर्थिक वर्ष ३५ भन्दा बढी देशबाट काठ आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारत र चीनबाट आयात हुने गरेको छ ।

मुलुकमा वार्षिक १० करोड घनफिट काठ आवश्यक पर्ने नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ (फेनफिट) का कार्यवाहक अध्यक्ष दिनेशराज रेग्मीले बताए । उनले तत्कालिन वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले वनसँग सम्बन्धित कार्यका लागि वन उद्यमीलाई कुठाराघात गरेको आरोप लगाए ।

नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ (फेनफिट) लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई कपिलवस्तुको गोरुसिंगेमा सम्बोधन गर्ने अधिकांश ब्यवसायीले सरकारसँग गुनासो ब्यक्त गरेका छन् । उनीहरुले नेपालको वन पैदावारलाई संरक्षणमुखी मात्र नभई उपभोगमुखी बनाउनुपर्नेमा जोड दिए ।

फेनफिटका केन्द्रिय सल्लाहाकार अर्जुन रानाभाटले काष्ठ ब्यवसायी भन्न बित्तिकै चोर हुन् भन्ने दृष्टिकोणको अन्त्य हुनुपर्ने बताए । राज्यका अधिकांश निकाय एवं तप्काबाट वन तथा काष्ठ ब्यवसायीलाई ‘चोर’ को संज्ञा दिएकोमा उनले आक्रोश ब्यक्त गरे ।
अर्का, केन्द्रिय सल्लाहाकार बसन्त रोका क्षेत्रीले वन नीतिमा परिवर्तन आवश्यक रहेको बताए । करको उचित ब्यवस्थापन र बैंक तथा बित्तीय क्षेत्रको ब्याजदरमा सुधार आउन नसके नेपालको वन उद्यम धराशयी बन्ने उनको तर्क छ ।

साझेदारी वन ब्यवस्थापनका कार्यवाहक अध्यक्ष जयप्रकाश पाण्डेले वन सम्वद्र्धन कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सांसद नवराज लामिछाने (भुपाल)ले वन संरक्षण र सम्र्वद्धनका लागि सबै पक्षको साथ आवश्यक रहेको बताए ।

बैज्ञानिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापाले वनले उपभोक्तालाई मात्र नभई राज्यको अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोग गर्ने कुरामा जोड दिए ।

यसैगरि, अधिवेशनले नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ (फेनफिट) लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका रुक बहादुर भुसाल निर्वाचित भएका छन् । गोरुसिंगेमा आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार शाह (बाँके), उपाध्यक्षमा मित्रदेव अधिकारी (दाङ्ग), महासचिवमा खडक बहादुर कुँवर (रुपन्देही), सचिवमा टिकाराम विश्वकर्मा (गुल्मी), कोषाध्यक्षमा बसन्ता पौडेल (अर्घाखाँची) निर्वाचित भएको निर्वाचन संयोजक कृष्ण बन्जाडेले बताए ।

त्यस्तै, खुल्ला सदस्यमा निरन्जन सिंह सिंजापति (बाँके), अशोक कुमार बढई (नवलपरासी), योगराज अधिकारी (रुपन्देही) चयन भएका छन् । त्यस्तै वस्तुगत सदस्यमा टेकबहादुर विष्ट (दाङ्ग) र एशोसियट सदस्यमा ईश्वरी कार्की (गुल्मी) चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्