बाणगंगाका ३ वटा वडा जोड्ने ‘कजवे’ पुल भत्किएको २ वर्ष सम्म उठ्न सकेन

नागरिकलाई सधै सास्ती


पालिका पत्र

६ जेष्ठ २०८०, शनिबार २१:३३ मा प्रकाशित


कपिलवस्तु, ०६ जेठ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका ३ वटा वडा जोड्ने ‘कजवे’ पुल भत्किएको २ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन् । नगरपालिकाका वडा न. ५,६ र ७ जोड्ने बाणगंगा नदिमा भत्किएको कजवे पुल पुनः निर्माणको माग बारम्बार भएता पनि अझै बनाउने कुनै सुरसार छैन । नगरपालिकाका नयाँ जनप्रतिनिधी निर्वाचित भएको पनि एक बर्ष वितिसक्यो तर यस तर्फ कसैको ध्यान गएको छैन् । जसका कारण अहिले दैनिक हजारौँ यात्रु सास्तीपूर्ण र वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सामाजिक सञ्जालमा समेत चर्को बिरोध हुने गरेको पाइएको छ ।

करिब ६ वर्षअघि संघीय सरकारको बजेटबाट निलगिरी जे.भि कन्ट्रक्सनले ३ करोड बढी लागतमा निर्माण भएको सो कजवे मर्मतमा समेत समयमै ध्यान नपुग्दा वितग २ वर्ष बढी समय देखि नारिकले सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् ।
बाणगंगा नगरपालिकाले मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का लगाउँदा पुल भत्किएको स्थानीयको आरोप छ । विगत २ वर्ष देखि सो पुलबाट स्थानीयले आवतजावत गर्न पाएका छैनन् । अब वर्षायामका बेला उर्लीएर आउने बाणगंगा नदिको बाढीमा यो सडक सञ्जाल पुल अभावकै कारण पूर्ण रुपमा अबरुद्ध हुन्छ । बाणगंगाको वडा नम्बर ७ हुँदै वडा नम्बर ६, ५ र कपिलवस्तु नगरपालिकासम्म जोड्ने सडकमा भत्किएको उक्त पुल अहिले सम्म पनि नबन्दा स्थानीय दुखि छन् ।

दैनिक हजारौँ नागरिक यो सडक भएर यात्रा गर्छन तर सरकारका कुनै पनि निकाय र यहाँबाट निर्वाचित जनप्रतिधिको नजर पुगेर पनि पहल नभएको वडा नम्बर ७ का टोल विकास संस्थाका अध्यक्ष मानबहादुर कार्कीले आफ्नो सामाजिक सञ्जालमार्फत राज्यका संयन्त्रहरुलाई झकझकाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो भत्किएको पुल नयाँ बनाउने काम कसले कहाँदेखी कति बेला पहल गर्ने हो । यस भेगका जनता बुझ्न चाहन्छन रु पुर्ब मन्त्री तथा बहालवाला सबै माननीयहरुलाई त पटक पटक भनी सकियो अब कसो गर्ने रु न देखेको स्थानीय सरकारका प्रमुख पनि हुनुहुन्न तर यसो उसो केही छैन । जय होस ।”

उनको यो लेखाइले सिँगो बाणगंंगा नगरपालिका र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित र निर्वाचनमा होमिएका उमेद्धारहरुलाई गिज्याइरहेको छ । जिल्ला सदरमुकामसँग जोड्ने एक मुख्य मार्ग भएर पनि बाणगंगा नदिमा भत्किएको उक्त पुल निर्माणमा कुनै पनि निकायबाट पहल नहुँदा जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मन्त्रि समेत भइसकेका उम्मेद्धारबाट अब आशा गर्ने ठाउँ नरहेको स्थानीयको गुनासो छ ।

हाल पुल भत्किएको २० मिटर नजिकमा ड्राइभर्सन बनाइएको छ । उक्त ड्राइभर्सन पनि हिउँदे वर्षाले भत्काएपछि हाल पुनः ड्राइभर्सन मर्मत गरिएको छ । तर अब वर्षायामसँगै बाणगगा खोलामा आउने बाढीले पुन सडक अबरुद्ध हुने अवस्था छ । तर पुल निर्माणमा भने कुनै सुरसार नै छैन ।

प्रतिक्रिया दिनुहोस्