खाद्य सुरक्षा र पोषणका मुद्दा मुख्य एजेन्डा बनाउन कपिलवस्तुका पत्रकारहरूको ५ बुँदे प्रतिबद्धता


पालिका पत्र

27 July, 2026 9:29 pm मा प्रकाशित


डिलाराम भुसाल
कपिलवस्तु, ११ साउन ।
खाद्य सुरक्षा तथा पोषणका विषयमा प्रमाणमा आधारित पत्रकारिता र प्रभावकारी पैरवी प्रवद्र्धन गर्ने उद्देश्यका साथ कपिलवस्तुका पत्रकारहरूले ५ बुँदे सामूहिक प्रतिबद्धता जारी गरेका छन् । नेपालको परम्परागत पत्रकारितालाई चिर्दै खाद्य सुरक्षा, पोषण र खाद्य अधिकारजस्ता जनजीविकाका संवेदनशील विषयलाई अब मिडियाको मुख्य समाचार एजेन्डा बनाउने सङ्कल्प पत्रकारहरूले गरेका हुन् ।
लुम्बिनीमा साउन ९ र १० गते आयोजित ‘खाद्य तथा पोषणसम्बन्धी तथ्यमा आधारित पैरवी प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ विषयक दुईदिने कार्यशालाको समापन अवसरमा यो साझा प्रतिबद्धता पत्र जारी गरिएको बताएको छ ।

सामूहिक प्रतिबद्धताअनुसार कपिलवस्तुका पत्रकारहरूले प्रमाणमा आधारित खोजमूलक समाचारमार्फत खाद्य सुरक्षा र पोषणका मुद्दा सशक्त रूपमा उठाउने, आफ्ना सञ्चार माध्यममा यस्ता विषयलाई प्राथमिकता दिने, यस क्षेत्रमा कार्यरत संघ–संस्थासँग सहकार्य गर्ने, तीनै तहका सरकारलाई जिम्मेवार बनाउन तथ्यपरक समाचार सम्प्रेषण गर्ने र खाद्य अधिकार, पोषण तथा खाद्यसम्बन्धी ऐन–कानुन कार्यान्वयनका लागि रचनात्मक दबाब सिर्जना गर्ने उल्लेख गरेका छन् ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुको पत्रकारितामा अब खाद्य सुरक्षा, पोषण र खाद्य अधिकारका मुद्दालाई प्राथमिकताका साथ स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउदै। अध्यक्ष भुसालले भने, “अबको पत्रकारिता केवल घटना र राजनीतिमा मात्र सीमित हुनु हुँदैन। तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत समाजमा सकारात्मक र दिगो परिवर्तन ल्याउन कपिलवस्तुका पत्रकारहरू एकजुट भएर अग्रसर हुनु बताएका छन् ।


कार्यशालामा सहजीकरण गर्दै स्वास्थ्य पत्रकार पदमराज जोसीले नेपालको मिडिया अझै पनि ‘३ पी’ अर्थात पोलिटिक्स राजनीति, पावर सत्ता र पोजिसन पद केन्द्रित रहेको टिप्पणी ग्रदै जनजीवनसँग प्रत्यक्ष जोडिएका कुपोषण र खाद्य असुरक्षाका समस्याले अपेक्षाकृत प्राथमिकता नपाएको उल्लेख गर्दै जोसीले भने, “राज्यको ध्यानाकर्षण गराउन सञ्चार माध्यमले अनुसन्धान र तथ्यमा आधारित समाचारलाई नै आफ्नो पहिलो प्राथमिकता बनाउनुप्रर्ने बताएका छन् ।

त्यस्तै, अर्का प्रशिक्षक गुणानिधि भुसालले पर्याप्त खाद्यान्न उत्पादन हुने जिल्लाहरूमा समेत कुपोषण देखिनु चिन्ताजनक रहेको बताउदै । पोषणसम्बन्धी ज्ञान र सन्तुलित आहारको अभावमा विशेष गरी महिला तथा बालबालिकामा यो समस्या गम्भीर बन्दै गएको भन्दै भुसालले भने, “खाद्य उत्पादन भएर मात्र पुग्दैन, पोषणबारे चेतना फैलाउन र वास्तविकता बाहिर ल्याउन पत्रकारिताले तथ्य र प्रमाणलाई आधार बनाएर उजागर गर्नुप्रर्ने बताएका छन् ।


यसैगरी, आरएनएनकी प्रोजेक्ट म्यानेजर मदिना पौडेलले पत्रकारितालाई समयानुकूल डिजिटल प्रविधिमैत्री बनाउँदै तथ्यमा आधारित सामग्री उत्पादनमा जोड दिइनुपर्ने बताउदै सञ्चार माध्यमले अनुसन्धान र तथ्यमा आधारित समाचारलाई नै आफ्नो पहिलो प्राथमिकता रुपमा ल्याउन आग्रह गरेकी छन् ।


कार्यशालामा कालिका स्वावलम्वन सामाजिक केन्द्र की खाद्य तथा पोषण सुशासन परियोजनाकी कमला सापकोटा, किड्सका परियोजना संयोजक गोपाल कडेल र सुधारिएको परियोजनाका संयोजक अशोक लम्सालले जिल्लाको पोषण अवस्था, सञ्चालित गतिविधि र मिडियाको भूमिकाबारे प्रकाश पारेका थिए। विभिन्न संघ–संस्थाका प्रतिनिधि र कपिलवस्तुका दर्जनौँ पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यशालामा सञ्चार माध्यमको भूमिका, चुनौती र भावी सम्भावनाबारे गहन छलफल भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्