बाल श्रम मुक्त ईट्टा उद्योगलाई सम्मान


पालिका पत्र

२९ जेष्ठ २०८०, सोमबार २१:४९ मा प्रकाशित


कपिलवस्तु, जेठ २९ ।
बाल श्रम मुक्त गर्न सफल ईट्टा उद्योगलाई सम्मान गरिएको छ । बाल श्रम दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमिमा एक कार्यक्रमका विच उद्योगलाई सम्मान गरीएको हो । बाल श्रम र पूर्ण रुपमा कामदार मैत्री ईट्टा उद्योग संचालन गर्ने २० वटा उद्योगका उद्यमीहरुलाई सम्मान गरिएको छ ।


कपिलवस्तु र रुपन्देहीमा रहेका उद्योगहरुमा श्रम व्यवस्थापन सम्वन्धी परियोजना संचालनमा आएपछि उद्योगहरु वालश्रम मुक्त र पूर्ण रुपमा कामदार मैत्री उद्योगका रुपमा आएका छन् ।


पूर्ण रुपमा बाल श्रम मैत्री उद्योगका रुपमा संचालन भई रहेका ८ वटा उद्योगहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ । श्रम तथा रोजगार कार्यलय, बुटवलले अनुगमन गरेका र पुर्ण रुपमा बाल श्रम मुक्त रहेका रुपन्देहीका दुई उद्योग र कपिलवस्तुका ६ वटा गरि आठ वटा उद्योगलाई सम्मान प्रदान गरिएको हो । जसमा रुपन्देहीका शिद्धार्थ ईट्टा उद्योग र सोना ईट्टा उद्योग रहेका छन् । त्यस्तै कपिलवस्तुका सुपा देउराली ईट्टा उद्योग, न्यू सुपा देउराली ईट्टा उद्योग, एपोलो ईट्टा उद्योग, लक्कि ईट्टा उद्योग, एन.एस.एस. ईट्टा उद्योग, सेभेन स्टार ईट्टा उद्योग पूर्ण रुपमा बाल श्रम मैत्री उद्योग रहेका बताईएको छ ।


यस्तै कामदार मैत्रीको रुपमा बालश्रममा वन्देज, ईच्छा विपरित श्रम नलगाउने, कामदारहरुको ज्यालामा पारदर्शिता, स्वास्थ्य तथा सुरक्षा सहित विभिन्न कामदारका मागहरुको संवोधन गरी पूर्ण रुपमा वालमैत्री उद्योगका रुपमा संचालनमा रहेका र हाल वालश्रम हटाईएका अन्य १२ वटा उद्योगका उद्याोगीहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।


उद्योगहरुलाई ग्लोबल फेयरनेस ईनिसिएटिभको सहयोग, नेपाल गुडविभ फाउन्डेसन, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको सहकार्यमा संचालित बेटर ब्रिक – नेपाल परियोजना मर्फत सम्मान गरिएको थियो ।


कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले बाल श्रम न्युनिकरण गर्न स्पष्ट नीतिका साथ अगाडी बढ्नुपर्ने बताए । उनले मुलुकमा बाल श्रम उन्मुलन गर्न आर्थिक कुरा जोडिएको भन्दै बाल श्रम रहेका परिवारको आर्थिक श्रोतहरुलाई फराकिलो बनाउँन आवश्यक रहेको बताए ।

उनले भने “आज बाल श्रम दिवस, दिवसका लागिमात्र नभएर सदैव बाल श्रमीक उन्मुलन गर्न नगरपालिका सदैव तयार छ ।” बाल श्रम ईट्टा उद्योगमा मात्र नभएर जताकतै बाट उन्मुलन गर्नु आवश्यक रहेको मेयर श्रेष्ठले बताए । उनले अब श्रमिक र बालबालिकाहरुको हकहितको लागी काम गर्न आवश्यक रहेको बताउँदै नागरिकहरुको सुरक्षाको लागी जिम्मेवार भएर काम गर्न आफु सधै लाग्ने बताए ।


श्रम तथा रोजगार कार्यलय, बुटवलका कार्यालय प्रमुख गिरीराज ज्ञवालिले सम्पूर्ण उद्योगीहरुले श्रम अडिटको विषयमा बुझ्नु पर्ने औल्याए । उनले प्रत्येक ईट्टा उद्योगीहरुले श्रम अडिट गर्नु आवश्यक रहेको भन्दै वि.स. २०७६ सालबाट सरकारले उद्योगीहरुको लागि श्रम अडिट सुरु गरेको जानकारी समेत दिए ।


उनले भने–“जसरी हरेक कानूनी निकायले नेपाल लेखामान अनुसार, लेखाङ्कन गरि आफ्नो हिसाब किताब दुरूस्त राखेका छन्, छैनन्, राज्यलाई तिर्नुपर्ने कर दायित्व तिरे तिरेनन्, आर्थिक अनुशासन पालन गरे गरेनन् भनेर वार्षिक रूपमा हिसाब–किताबको लेखापरीक्षण गरेजस्तै कुनै पनि रोजगारदाताले श्रम कानून बमोजिम उचित श्रम अभ्यास गरे गरेनन् भनेर बुझ्न श्रम अडिट जरुरी छ ।”


उनले अब समय परिवर्तन संगै डिजिटल युगमा प्रवेश गरिसकेको भन्दै उद्योगको विविरण अनलाईन मार्फतनै हुँदा कोही उद्योगी उमकन नपाउने भन्दै श्रम अडिट गर्दा गलत विवरण पेश गर्नेलाई पनि जरिवान लाग्ने ब्यवस्था समते ऐनमा उल्लेख रहेको जनकरी दिए ।


कार्यक्रम ईस्डो नेपालका सचिव नारायण प्रसाद पौडेलको अध्यक्षता, गुडविभ फाउन्डेसन नेपालका निर्देशक सम्झना प्रधानकोे स्वागत तथा गुडविभ फाउन्डेसन नेपालका आई.एम सि प्रमुख उमेश कुईकेलकोे संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्