मायादेवी गाउँपालिकामा सिकाई व्यवस्थापन प्रणाली सञ्चालन


पालिका पत्र

१६ असार २०८०, शनिबार १९:११ मा प्रकाशित

कपिलवस्तु , असार १७ । कपिलवस्तु जिल्लामै पहिलो पटक मायादेवी गाउँपालिकाका बिद्यालयमा सिकाई व्यवस्थापन प्रणाली सञ्चालन गर्न थालिएको छ । गाउँपालिकाको छत्रपाली तिर्था देवी माबि पकडी, नेपाल राष्ट्रिय माबि भैसकुण्डा, जनता माबि बलुहवा र राष्ट्रिय माबि जिग्निहवामा सिकाई व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईने छ । प्रणाली कार्यान्वयनमा ल्याउन चार वटा बिद्यालयका शिक्षकलाई तालिम दिईएको छ । प्रणाली सञ्चालनमा आएसगै नेपाल सरकारको बिद्यालय पाठ्यक्रमलाई अनलाईनमा राखेर शिक्षणमा सहयोग पुर्याउने कार्य अगाडी बढने छ ।


ट्रान्सफर्म एड र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सनसाईन सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित सिवाईसिसी परियोजनाले प्रणाली सञ्चालनमा सहयोग गर्न थालेको हो । शैक्षिक सामाग्री व्यवस्थापन र पहुचमा प्रणाली सञ्चालनले सहयोग पुग्ने शिक्षकका लागि आयोजित तालिमका प्रशिक्षक पदम पन्तले बताए । शिक्षकलाई दिईने तालिममा शैक्षिक सामाग्रीलाई एकिकृत गर्ने, व्यवस्थापन गर्ने, बिद्यार्थीमा पहुचँयोग्य बनाउने, अभ्यास गराउने, पृष्ठपोषण लिने र बढि भन्दा बढि बिद्यार्थीलाई कसरी सहभागी गराउने बिषयमा सहजीकरण गर्न थालिएको उनले स्पष्ट पारे ।


प्रणाली सञ्चालनले बिषय शिक्षकको अभाव भएका स्थानमा अनलाईन शिक्षण हुने, शिक्षक तथा बिद्यार्थी बिच सञ्जालीकरण एवम अन्तरक्रिया हुने, समस्या पहिचान र समाधानको उपाय खोजिने तथा सिकाई उपलब्धी बृद्धिमा सहयोग पुग्ने छ । प्रणाली मार्फत सञ्जालिकरण भएका बिद्यार्थी र शिक्षकले दैनिक शिक्षण भएका सामाग्रीलाई अनलाईन बाटै प्राप्त गर्न सक्ने छन ।

त्यसै गरि यस कार्यले कम श्रोतको प्रयोग बाटै शिक्षक अभावको समस्या परिपुर्तिमा सहयोग मिल्ने बिश्वास गरिएको छ । चार बिद्यालयमा सञ्चालनका ल्यान थालिएको प्रणाली एक बर्षे परिक्षण परियोजना अन्र्तगत सञ्चालन हुनेछ । सामुदायिक बिद्यालयको सिकाई व्यवस्थापन, वैकल्पिक सिकाई सहजीकरण र नियमित सिकाई कार्यलाई प्रभावकारी बनाउन प्रणाली सञ्चालनले सहयोग पुग्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे बताए । बिज्ञान र प्रबिधिको प्रयोगको अहिलेको समयमा बिद्यार्थीलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रतिश्पर्धि बनाउने उद्धेश्यले प्रणाली सञ्चालन गर्न गाउँपालिकाले सहकार्य गर्न थालेको घिमिरेले स्पष्ट पारे ।


संरचना अभावले बिद्यालयको सिकाई रोक्किने परिस्थित बन्न नहुने आफुहरुको मान्यता रहेको युएमएनका कलस्टर प्रमुख रुप कुमार बिकले बताए । शिक्षा र स्वास्थ्इमा पछाडी परेको कपिलवस्तु जिल्लामा प्रबिधीको प्रयोग गरि सिकाई उपलब्धी बृद्धि गर्न प्रणाली सञ्चालन सहयोगी हुनेमा उनले बिश्वास व्यक्त गरे । गाउँपालिकाको चार वटा पालिकाबाट शुरु गर्न थालिएको सिकाई व्यवस्थापन प्रणालीको उपलब्धीलाई मध्यनजर गरि पालिकाका अरु बिद्यालयमा बिस्तार गर्ने योजना बनाईने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए । शिक्षामा समुदायको चासो नहुनु दुखदः पक्ष रहेको लुम्बिनी प्रदेशसभाका सदस्य मधुसुदनशरण चौधरीको गुनासो थियो । शिक्षा सुधारका लागि बिभिन्न प्रयत्न भए पनि समाजको दृष्टिकोण बदलिन नसकेकाले अब सबै पक्ष जिम्मेवार रुपमा अगाडी बढ्नु पर्ने उनले सुझाव दिए ।


बिद्यालयको गुणस्तर सुधारका साथै सिकाई हस्तान्तरणमा सिकाई व्यवस्थापन प्रणाली सहयोगी हुने सिवाईसिसी परियोजनाका संयोजक बद्रीनाथ शर्माले जानकारी दिए । “बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हामीले यो प्रणाली सञ्चालनको प्रयास थालेका हौं । प्रणाली सञ्चालनमा आए सगै एउटै शिक्षकले धेरै बिद्यालयमा अनलाईन प्रबिधीको प्रयोग गरेर अध्यापन गराउन सक्ने बातावरण बन्छ । शिक्षक, शिक्षक र बिद्यार्थी बिद्यार्थी बिच पनि सिकाई हस्तान्तरणको बातावरण बन्छ ।” संयोजक शर्माले भने । प्रणाली मार्फत जोडिन बिद्यार्थीहरुको छुट्टाछुट्टै युजरनेम र पासवर्ड सिर्जना गरिने छ । जसबाट मोबाईल वा अन्य उपकरणमा प्रबिधीको प्रयोग गरि बिद्यार्थीहरु अनलाईन कक्षामा जोडिन सक्नेछन । तत्कालका लागि सामाजिक र अंग्रेजी बिषयका शैक्षिक सामाग्रीमा केन्द्रित गरि प्रणाली सञ्चालनमा ल्याईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्