लुम्बिनी प्रदेशका ११ पालिकामा मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम स्वीकृत


पालिका पत्र

३१ बैशाख २०८१, सोमबार १९:२६ मा प्रकाशित


कपिलवस्तु वैशाख, ३१ ।

लुम्बिनी प्रदेशका ११ पालिकामा मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ । मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका – २०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिए ।


सचिव घिमिरेका अनुसार लुम्बिनी प्रदेशका पाल्पाका रिब्दीकोट र तिनाउ, गुल्मीका गुल्मीदरबार गाउँपालिका, रेसुंगा नगरपालिका, कालीगण्डकी गाउँपालिका, दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र भूमिकास्थान गाउँपालिकामा यो कार्यक्रम लागू हुनेछ । यसैगरी बर्दियाको बाँसगढी, रूपन्देहीको गैडहवा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि यो कार्यक्रम हुनेछ ।

नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले स्थानीय तह छनोट गरेको हो । चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव आह्वान गरिएको थियो । स्थानीय तहबाट आएका उत्कृष्ट प्रस्ताव मध्येबाट छनौट गरी निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव घिमिरेले बताए ।

छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्ने उनले बताए । लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र रहेका छन् । पाल्पाको रिब्दीकोटले अकबरे, बेसार र सुन्तलाको मूल्य श्रृंखला विकास कार्यक्रम, तिनाउले आर्थिक तथा सामाजिक विकासका लागि समुदायमा पर्यटन ( होमस्टे प्रवर्द्धन ) सँगै उद्यमशीलता कार्यक्रम प्रस्ताव गरेको छ ।


अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर सुधारको लागि इ – सिकाइ र डिजिटल शिक्षा साथै भूमिकास्थान नगरपालिकाले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न कृषिजन्य वस्तु तथा हस्तकलाका सामग्री उत्पादन र बजारिकरणको लागि सूचीकृत बेरोजगार जनशक्ति परिचालन कार्यक्रम प्रस्ताव गरेको छ ।
गुल्मीको रेसुंगा नगरपालिकाले रेसुंगा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साहसिक खेल जिपलाइन र स्काई साइक्लिङ निर्माण योजना पेस गरेको छ । कालीगण्डकी गाउँपालिकाले सुन्तलाजात फलफूल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दिगो कृषि विकास परियोजना पेस गरेको छ । गुल्मीकै गुल्मी दरबार गाउँपालिकाले फलफूल र तरकारी खेती प्रवर्द्धन कार्यक्रम पेस गरेको कार्यालयले जनाएको छ ।


दाङको राप्ती गाउँपालिकाले बेसार, अदुवा उत्पादन तथा प्रशोधन उद्योग स्थापना तथा सञ्चालन आयोजना, बर्दियाको बाँसगढी गाउँपालिकाले जैविक कृषि प्रवर्द्धन आयोजनाको प्रस्ताव पेस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकाले युवा रोजगारी तथा स्वरोजगारीको लागि दिगो कृषि परियोजना कार्यक्रम पेस गरेको थियो ।
निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ । नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न कार्यक्रम ल्याएको हो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेस गरेका थिए । उनीहरूले आफूले गर्ने कार्ययोजनासहित प्रस्ताव पेस गरेका हुन । प्रदेश सरकारले प्रस्ताव पेस गर्नका लागि गत माघ १५ गते सूचना प्रकाशित गरेर ३० दिनको समय दिएको थियो । प्रदेशमा १०९ स्थानीय तह छन् ।


मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रममा युवाको नयाँ योजनालाई सहयोग पु¥याउने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत रकम बेहोर्नु पर्ने व्यवस्था छ । कार्यक्रम कार्यान्वयन स्थानीय तहले सञ्चालन गर्ने र त्यसको निगरानी प्रदेशले गर्ने छ । प्रदेश सरकारले पालिका छनोट गरे पनि संघीय सरकारले भने यस कार्यक्रमलाई अघि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्