शिक्षण सिकाइलाई प्रभावकारी गराउन सक्रिय  हिलवर्ट, विषयवस्तुमा केन्द्रित सामाग्री प्रदर्शन


पालिका पत्र

१ जेष्ठ २०८१, मंगलवार ०८:१२ मा प्रकाशित

बाणगङ्गा, जेठ ०१ । बाणगंगा २ पिपरामा रहेको हिलवर्ट ईङलिस बोर्डिङ स्कुलमा सञ्चालन गरिएको बालमैत्री शिक्षण सिकाइ तालिमका क्रममा तयार पारिएका शैक्षिक सामाग्रीको प्रदर्शनी गरिएको छ । गत शुक्रबार, शनिबार र आइतबार गरी ३ दिनसम्म चलेको तालिमसँगै शिक्षकहरूले हजारौँ शैक्षिक सामाग्री तयार पारेका थिए ।

पाठ्यक्रममा रहेका विविध विषयवस्तुमा केन्द्रित रहेर बनाइएका ती सामाग्रीको आइतबार प्रदर्शनी गरिएको हो । शिक्षकले यसरी बनाएका सामाग्रीलाई अब कक्षाकोठामा प्रयोग गरिने विद्यालयले जनाएको छ । पुरानो तरिकाको शिक्षणले अब विद्यार्थीको शैक्षिक व्यवहारमा परिवर्तन गर्न नसकिने बताउँदै पहिले शिक्षकको पढाउने शैली नै बदल्नुपर्ने आयोजक हिलवर्ट बोर्डिङका अध्यक्ष दीपक खनालले बताए । आयोजक हिलवर्टसँगै रूपन्देहीका कुँवरवर्ती बोर्डिङ स्कुल र माइलस्टोन मन्टेश्वरीका १ सय शिक्षकको सहभागिता थियो ।


तालिमपछि तिन वटै विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन आउनेमा अध्यक्ष खनालको विश्वास छ । अर्ग्यानिक एजुकेसन काठमाडौँका सिइओ अर्जुन भट्ट र वरिष्ठ मन्टेश्वरी शिक्षक कमला देवकोटाले तालिमको सहजिकरण गर्दै शिक्षकहरूले अब बालमैत्री शिक्षण गर्नुपर्ने बताए । भट्टले कक्षाकोठामा शिक्षण सामाग्री प्रयोग गरी विषयवस्तु अध्यापन गर्दा विद्यार्थीले रमाइलो वातावरणमा छिटो र छरितो तरिकाले बुझ्ने हुँदा शैक्षिक सामाग्रीको प्रयोग महत्वपूर्ण रहेको बताए ।


अब पुरानो शैलीको सिकाइले विद्यार्थी केन्द्रित सिकाइ नहुने स्कुलका प्रिन्सिपल शिव प्रसाद पोख्रेलको भनाई छ । प्रबन्ध निर्देशक बुद्धि पौडेल, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले तालिमको फाइदा लिई कक्षाकोठामा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे । कार्यक्रमको सञ्चालक विद्यालयका मावि तह संयोजक तेज प्रसाद आचार्यले गरेका थिए ।

शिक्षकहरूले पनि तालिमपछि धेरै कुरा सिकेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाग्री तयार पारेपछि विद्यालयमा प्रदर्शन गर्ने तरिकाहरूमाथि पनि शिक्षकले अभ्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्