आज बुधबार ३७५ रुपैयांमै लुम्बिनी केबलकारमा दुईतर्फी यात्रा गर्न सकिने

९ बजेदेखि १२ बजेसम्म टिकट काटेपछि बुधबार सांझसम्म आफू अनुकुलको समयमा केबलकार यात्रा गर्न सकिने सैजूले स्पष्ट पारे ।


१० श्रावण २०८०, बुधबार ०६:४७ मा प्रकाशित

पालिकापत्र,बुटवल । आज बुधबार बुटवलको लुम्बिनी केबलकारमा ३७५ रुपैयांमै दुई तर्फी यात्रा गर्न सकिन्छ । लुम्बिनी केबलकारले गत हप्ताको बुधबारदेखि साउन र भदौ महिनाका लागि टिकट दर आधा सस्तो हुने गरी मर्निङ अफर ल्याएको थियो ।

सोही अनुसार हरेक बुधवार बिहान ९ बजेदेखि १२ गतेसम्म केबलकारको टिकट काट्ने हरुले ७५० रुपैयांको साधारण टिकट दरमा ५० प्रतिशत छुट पाएर केवल ३७५ मै केबलकार चढ्न पाउने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

९ बजेदेखि १२ बजेसम्म टिकट काटेपछि बुधबार सांझसम्म आफू अनुकुलको समयमा केबलकार यात्रा गर्न सकिने सैजूले स्पष्ट पारे । मर्निङ अफर लागु भएको पहिलो दिन अघिल्लो बुधबार केबलकार चढ्न आउनेहरुको उत्साहजनक उपस्थिति देखिएको थियो । अघिल्लो बुधबार तीन घण्टामा ९ सय ९६ जनाले टिकट काटेका थिए ।
यो अफरमा हरेक बुधवार भारतीय नागरिकले ३७५ भारु र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
साउन र भदौ आन्तरिक र वाह्य पयृटकका लागि अफसिजन भएको हुंदा आम सर्वसाधारण नागरिक पनि सहुलियत दरमा केबलकारको यात्रा गर्न पाउन् र भर्खर सञ्चालनमा आएको केबलकारमा चहलपहल होस् भन्ने उद्देशयले मर्निङ अफर ल्याइएको कम्पनीले जनाएको छ । बुधबार बिहान ९ देखि १२ बजे सम्म वाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ ।

आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा रहेको छ । लुम्बिनी प्रदेशकै पहिलो केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर,सय वर्ष पुरानो दुर्गा माता मन्दिर, महादेव शिवको बाहन नन्दी, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेक छन् । तराईका ठाउंमा भन्दा बसन्तपुरमा करिब १० डिग्री सेल्यिस तापक्रम कम हुने भएकाले गर्मी मौसममा शितलता प्राप्त गर्न पनि पर्यटकहरु केबलकार चढेर बसन्तपुर पुग्ने गरेका छन् ।

टप स्टेशन बसन्तपुरबाट बुटवल शहरको साथै पाल्पाका विभिन्न पहाडी इलाकाको प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिन्छ । विशेषगरी कामाख्या देवीको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको मन्दिरका पण्डित सुरेश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्