लुम्बिनी केबलकारको मर्निङ अफरमा अत्यधीक आकर्षण, तीन घण्टामा ३३ सय टिकट विक्रि


१० श्रावण २०८०, बुधबार २०:५८ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी केबलकारमा साउनको पहिलो बुधबारदेखि शुरु भएको मर्निङ अफरमा अत्यधीक आकर्षण देखिएको छ । लुम्बिनी केबलकारले साउन र भदौ महिनाको हरेक बुधबार बिहान ९ बजेदेखि १२ गतेसम्म टिकट खरिद गर्दा साविक टिकट दरमा ५० प्रतिशत छुट दिएर मर्निङ अफर ल्याएको थियो ।

सोही अनुसार साउन १० गतेको बुधवार तीन घण्टा नपुग्दै तीन हजार तीन सय ७ जनाले टिकट खरिद गरेका र साधारण टिकट दरमा २ सय ४७ जनाले टिकट काटेका केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
साउनको पहिलो बुधबार मर्निङ अफरमा ९ सय ९६ जनाले टिकट खरिद गरेका थिए । ‘साउन र भदौ अफ सिजन भएको र केबलकार भर्खरै सञ्चालनमा आएको हुंदा सबै वर्ग र समुदायलाई सहुलियत दरमा केबलकार यात्रा गराई अफ सिजनमा पनि चहलपहल बढाउन यो अफर ल्याएका हौं’– अपरेसन म्यानेजर सैंजूले भने–‘अरु बार पनि केबलकार चढ्न आउनेहरुको उपस्थिति राम्रै छ तर अफरमा निकै राम्रो आकर्षण देखियो, अघिल्लो बुधबार भन्दा तीन गुणा बढी उपस्थिति भयो ।’ साविक टिकट दर ७५० रहेकामा मर्निङ अफरमा ३७५ मात्र कायम गरिएको छ ।
मर्निङ अफरमा अत्यधीक आकर्षणले धेरै मान्छे आएपछि भीड व्यवस्थापन गर्न केही कठिनाई भएको तर आगामी दिनमा कमी कमजोरी हुन नदिने कम्पनीले जनाएको छ । यो अफरमा भारतीय नागरिकले ३७५ भारु र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

बुधबार बिहान ९ देखि १२ बजे सम्म वाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत गरी डेढ कूल ५ अर्ब अर्ब लागतको लुम्बिनी केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर,सय वर्ष पुरानो दुर्गा माता मन्दिर, महादेव शिवको बाहन नन्दी, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेक छन् । तराईका ठाउंमा भन्दा बसन्तपुरमा करिब १० डिग्री सेल्यिस तापक्रम कम हुने भएकाले गर्मी मौसममा शितलता प्राप्त गर्न पनि पर्यटकहरु केबलकार चढेर बसन्तपुर पुग्ने गरेका छन् । टप स्टेशन बसन्तपुरबाट बुटवल शहरको साथै पाल्पाका विभिन्न पहाडी इलाकाको प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिन्छ । विशेषगरी कामाख्या देवीको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको मन्दिरका पण्डित सुरेश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्