स्थानीय तह मातहतका लुम्बिनीका चार अस्पताल मध्य पिपरा अस्पताल ५६ अङ्कका साथ दोस्रो


पालिका पत्र

२४ भाद्र २०८०, आईतवार ०७:४० मा प्रकाशित

रविना कडेल, भदौ २४ ।

स्थानीय तहले सञ्चालन गरेका लुम्बिनीका चार अस्पताल मध्य कपिलवस्तु बाणगङ्गा पिपरा अस्पताल ५६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । न्यूनतम सेवा मानक कार्यान्वयन कार्यक्रमका क्रममा प्रस्तुत गरिएको सूचकका आधारमा पिपरा अस्पताल प्रदेशकै दोस्रो स्थानमा आएको हो ।

न्यूनतम सेवा मानक (MSS) गुणस्तर सुधारको लागि लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सूचकका आधारमा अस्पतालले सो अङ्क प्राप्त गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९मा गरिएको मापनमा अस्पतालले ४७ प्रतिशत अङ्क प्राप्त गरेको थियो । आर्थिक बर्ष २०७९/ ०८०मा न्यूनतम सेवा मानक कार्यान्वयन गर्दा ९ प्रतिशत अङ्क बढेर ५६ अङ्क भएको छ ।

शनिबार बाणगङ्गा वडा नं. २ को सभाहलमा भएको न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन समिक्षामा यस्तो तथ्यांक प्रस्तुत भएको हो । सो तथ्यांक प्रस्तुत गर्दै विगतको तुलनामा अस्पताल सुधारोन्मुख पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय एवं भीम अस्पतालका निमित्त मेसु तथा न्यूनतम सेवा मापदण्ड कार्यन्वयन अनुगमनमा मूल्यांकन समितिका स्रोत व्यक्ति डा।मोहम्मद नरुल हुदाले जानकारी दिए । अस्पतालको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायत ७ सय ६१ वटा मापदण्डहरू चुस्त, दुरुस्त पालना गरे नगरेको को आधारमा अङ्क दिइएको उनले बताए ।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले अस्पताललाई यस वर्ष नै ५० बेडको स्तर उन्नतिका लागि प्रदेश र केन्द्र सरकार सँग छलफलमा रहेको बताए । उनले यस अस्पतालाई प्रदेशकै नम्बर वान गराउँदै ट्रमा सेन्टरको रुपमा स्थापित गर्न सकेमा यस क्षेत्रका नागरिकलाई सहज हुने बताए । उनले क्रमश पिपरा अस्पताललाई यो स्थितिमा पुर्याउने बताए । यस अस्पतालमा आउन इच्छुक डक्टरहरूलाई यहाँ आउनका लागि पहल गरिदिन आग्रह गरे । मेयर अर्यालले प्रदेश र संघले पिपरा अस्पतालमा आउन चाहेका डक्टरलाई नपठाउने र अन्य जो पायो त्यही नगरे स्वीकार नगर्ने बताए । नगरपालिकाले निःशुल्क एम्बुलेन्स प्रदान गरेको र नो होम डेलिभरी सेवा नगरले सञ्चालन गरेको बताए ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरीले अस्पताल व्यवस्थापन टोली, चिकित्सक, स्वास्थ्यकर्मी सबैको मेहनतले सो अङ्क प्राप्त गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरिन । उनले अस्पताललाई प्रदेशमै नमुना बनाउनका लागि स्थानीय सरकार सदैव साथमा रहने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेल प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख रामचरण कुर्मी, बाणगङ्गा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार तिवारी लगायतले बोल्दै अस्पताल प्रति चासो व्यक्त गरे ।

यस्तै अस्पतालको गतिविधि एवं सञ्चालन गरेका बारे निमित्त मेसु राजेन्द्र चौधरीले प्रस्तुतिकरण दिएका थिए भने अस्पतालका चिकित्सक डा। गणेश क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । न्यूनतम सेवा मापदण्डका आधारमा बर्दघाटको चिसा पानी अस्पताल ५८ प्रतिशत अङ्कका साथ प्रथम भएको छ भने लमही अस्पताल ४५ प्रतिशत अङ्क प्राप्त गरेको छ यस्तै शिवराज अस्पताल ४४ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

१५ शैयाको अनुमति प्राप्त पिपरा अस्पतालमा अहिले ३८ जना जनशक्ति रहेको छ । २८ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा अहिले १९ जना मात्र स्थायी कर्मचारी रहेका छन । त्यस वाहेर अरु ५ जना नेपाल सरकार द्वारा करारमा छन् भने अन्य सबै स्थानीय पहुँचका आधारमा दैनिक ज्यालादारी र वार्षिक करार सेवा भर्ना गरेर काममा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्