मजदुरले ६ वर्षसम्म पनि पाएनन् पुल निर्माणको ज्याला


पालिका पत्र

३० भाद्र २०८०, शनिबार १६:३१ मा प्रकाशित

भाद्र ३० । रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका–२ छिप्तरा र भूमे गाउँपालिका–५ वाबाङ जोड्न ६ वर्षअघि निर्माण सम्पन्न भएको झोलुंगे पुलमा काम गरेका मजदुरले कामको ज्याला नपाएको गुनासो गरेका छन् । करिब १ सय जना मजदुरले आफूहरू ठेकेदारबाट ठगिएको बताएका छन् ।

डोल्पा त्रिपुराकोटको वादिरो मस्त निर्माण सेवा कम्पनीले २०७३ सालमा पुल निर्माण कार्य थालेर त्यसको एक वर्षपछि निर्माण सम्पन्न गरेको थियो । एक वर्ष पुल निर्माणको काममा मजदुरी गरेका आफूहरूले एक पैसा पनि ज्याला नपाएको सिस्ने–६ का डिलबहादुर केसीले बताए । ‘पैसा आउँछ–आउँछ भनेर हामीलाई ठेकेदारले काममा लगाए । हामीले पनि विश्वासकै आधारमा काम गर्‍यौं तर निर्माण सकिएको यति लामो समय बितिसक्दा पनि हामीले ज्याला पाएनौं ।

उनले भने, ‘ठेकेदारले ठगेको/भागेको भनेर हामीले २०७७ साल असोज ५ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि गर्‍यौं । तर त्यसको पनि केही सुनुवाइ भएन ।’ पुल निर्माणमा खटेका मजदुरहरूले कामबापत पाउनुपर्ने प्रतिव्यक्ति पारिश्रमिक १ हजारदेखि ५० हजार रुपैयाँसम्म भएको सिस्ने–४ का प्रकाश घर्तीले बताए । ‘मैले काम गरेबापत पाउनुपर्ने ४७ हजार रुपैयाँ छ । तर, अहिलेसम्म पाइएन । हाम्रा लागि यो त निकै ठूलो अन्याय भयो ।’

निर्माण जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालन बौद्धसिंह कठायतको स्थायी ठेगाना डोल्पा भए पनि उनी काठमाडौंको मैतिदेवीमा बस्दै आएको ३ वर्षअघि मजदुरहरूले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको उजुरीमा उल्लेख छ । त्यही निवेदनमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाइलको स्विच अफ छ ।

प्रतिक्रिया दिनुहोस्