रगत अभावविरुद्ध नेपाल किसान ट्याक्टर समितिको पहल, ७० जनाले दिए जीवनदान


पालिका पत्र

26 September, 2026 7:00 pm मा प्रकाशित

बाणगंगा, १० असोज । अस्पतालमा रगतको आवश्यकता पर्ने बिरामीको संख्या बढिरहँदा कपिलवस्तुको नेपाल किसान ट्याक्टर समितिले आफ्नो स्थापना दिवसलाई मानवीय सेवासँग जोडेको छ । समितिको २७औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० प्वाइन्ट रगत संकलन भएको छ ।

समितिले स्थापना दिवसमा औपचारिक कार्यक्रम मात्र नगरी रगत अभावको समस्या न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । समितिको वार्षिक कार्ययोजनाअनुसार आफ्नै सभाहलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंस्था तथा समितिका पदाधिकारी, सदस्य र सर्वसाधारण गरी ७० जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । ‘रक्तदान, जीवनदान’ नारासहित गरिएको कार्यक्रममा संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले नेपाल किसान ट्याक्टर समितिजस्ता संस्थाको सामाजिक सक्रियताले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । संस्थाहरूले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

अर्यालले बाणगंगा नगरवासीलाई रगत आवश्यक पर्दा कहींकतै शुल्क बुझाउन नपर्ने बताउनुभयो । नगर क्षेत्रमा रगतको पहुँच र उपलब्धतालाई सहज बनाउन यस्ता सामाजिक अभियानले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

समितिका अध्यक्ष झविन्द्र खनालका अनुसार अस्पतालहरूमा पछिल्लो समय देखिएको रगतको अभावलाई केही हदसम्म कम गर्न कार्यक्रम आयोजना गरिएको हो । रगतको माग बढ्दै गइरहेको अवस्थामा नियमित रक्तदान आवश्यक रहेको उहाँको भनाइ छ ।

‘रगत अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने उद्देश्यले समितिले समय–समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो । उहाँका अनुसार स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै रक्तदानलाई निरन्तरता दिइएको हो ।

कार्यक्रम समितिका सदस्य टंक पाण्डेको संयोजकत्व तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्की, बाणगंगा नगरपालिका-२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णुप्रसाद पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रमका क्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीलाई स्वागत तथा सम्मान गरिएको थियो । रक्तदान गर्ने सबैलाई समितिले प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन समितिका महासचिव विष्णु गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्