इलेक्ट्रिक सवारीको लागि करोडौँको लगानीमा खुल्यो न्यु गुराँस ट्रेड लिङ्क 


पालिका पत्र

८ आश्विन २०८०, सोमबार १९:४३ मा प्रकाशित

कपिलवस्तु, असोज ०८ । 

कपिलवस्तुको वाणगङ्गामा  इलेक्ट्रिक सवारीको लागि करोडौँको लगानीमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ । बाणगंगाका ७ जना सफल युवा व्यवसयिहरुको संयुक्त लगानीमा विद्युत बाट चल्ने स्कुटर र साइकलको शो रुम सञ्चालनमा ल्याइएको हो । 
विश्वभरि इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ ।

विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि सञ्चालनमा आएको ट्रेड लिङ्कको सोमबार (आज) एक भब्य समारोहका बिच उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेद्वारा उद्घाटन गरिएको छ ।

बाणगंगाका ७ व्यवसायीहरूको सवा करोड भन्दा बढिको लगानीमा सुरु गरिएको उक्त ट्रेड लिङ्कले इन्धनको अभावलाई रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । विश्व बजारमा द्रुत गतिमा विकास भैरहेको इलेक्ट्रिकका सवारी साधन (इभि) को प्रयोगलाई कपिलवस्तुमा समेत बढाउन यस्तो व्यवसाय सुरु गरिएको सञ्चालकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष घिमिरेले व्यवसायीहरूका हरेक काममा आफू र संघ साथमा रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे । बढ्दो वैदेशिक पलायनलाई रोक्ने प्रेरणाको स्रोतका रुपमा ६ जना युवाहरू उभिएकामा खुसी व्यक्त गर्दै सहकार्यको लागि तत्पर रहेको बताए ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ले यस ट्रेड लिङ्कले रोजगारको अभावमा भागिरहेकालाई समेत सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन् । यस्तो आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानी गर्न हिम्मत गरेको भन्दै उहाँले प्रशंसा समेत गरेका थिए । फरक प्रसङ्गमा उहाँले राज्यले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्राम भन्ने योजनालाई छिटो कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरे ।

त्यस्तै चेम्बर अफ कमर्स कपिलवस्तुकी अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको शुभकामना दिईन ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभाग्गे थारूले विद्युतीय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने जिकिर गरे । आफूले विगत देखि नै विद्युतीय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यसको सम्भावना प्रसस्त रहेको बताए ।

सञ्चालक विश्नु प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्दै विश्व बजारमा नै व्यवसायीहरू धराशायी बनिरहेको अवस्थामा आफूहरूले हिम्मत गरेर महत्त्वपूर्ण कदम चलेकोले यसमा जिल्लाका सबै संघ सस्था र ब्याक्तिहरुले सहयोग गर्नेमा विश्वास्त रहेको बताए ।

सञ्चालकहरू, जिल्लका व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्