सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरूको भेला लुम्बिनीमा


पालिका पत्र

२५ आश्विन २०८०, बिहीबार १०:०९ मा प्रकाशित

असोज २५ । प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकाका विषयमा छलफल गर्न सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरूको लुम्बिनीमा भेला हुँदै छन् । आज (बिहीबार) देखि शुरू हुने भेलामा प्रदेशहरूको दोस्रो आवधिक योजना निर्माणका विषयमा पनि गम्भीर छलफल हुनेछ ।

लुम्बिनी प्रदेश योजना आयोगको आयोजना एवं समन्वयमा हुने भेला रूपन्देहीमा दुई दिन चल्नेछ । भेलाको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोग उपाध्यक्ष, सातै प्रदेशका पूर्वमुख्यमन्त्रीहरू र लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्रीको सहभागी रहने छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले कोशीबाहेक ६ प्रदेशका योजना आयोगका उपाध्यक्षहरू, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति रहने जानकारी दिए ।

भेलामा सबै प्रदेशहरूको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरूको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नु पर्ने भूमिकाको विषयमा गहन छलफल हुनेछ ।

अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयबस्तुमाथि पनि छलफल गरेर प्रदेशहरूको विकासको योजना तयार गर्ने छ । लुम्बिनी प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख पोषणराज भण्डारीले संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्