कपिलवस्तु ।
रक्सी सेवन गरी पटक–पटक श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विवादमा आउने कृष्णनगरका एक जनप्रतिनिधिले आफूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्। वडा नं. ११ का वडाध्यक्ष जीवन श्रीवास्तवले घरायसी विवादका क्रममा प्रहरीले पक्राउ गरी आफूमाथि कुटपिट गरेको दाबी गरेका हुन्।
शुक्रबार राति मादक पदार्थ सेवन गरेका वडाध्यक्ष श्रीवास्तवले श्रीमतीमाथि कुटपिट गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिएपछि उनले प्रहरीमाथि गालीगलौज तथा अभद्र व्यवहार गर्न थालेका थिए। त्यसपछि उनको मेडिकल परीक्षणका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो। अस्पतालमा समेत उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको र अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी भएपछि उनले प्रहरीमाथि कुटपिटको आरोप लगाएका हुन्। हाल उनी उपचारका लागि भैरहवा मेडिकल कलेजमा रहेको बताइएको छ।
शिवराज अस्पताल, बहादुरगञ्जको मेडिकल रिपोर्टमा वडाध्यक्ष श्रीवास्तवले मादक पदार्थ सेवन गरेको र उनको टाउको तथा मुखमा चोट लागेको उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका एक अधिकारीले भने, “हामीले घटनाका बेला खटिएका सुरक्षाकर्मी, अस्पतालकर्मी तथा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिरहेका छौं। दोषी देखिए आवश्यक कारबाही हुन्छ।”
यद्यपि, अस्पताल स्रोतका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका श्रीवास्तवले मेडिकल परीक्षण गराउन नमानेका थिए। मुद्दा चल्ने जानकारी पाएपछि रिसाएर उनले आफैं भित्तामा टाउको र मुख ठोक्काएको दाबी गरिएको छ।
त्यसपछि बिहान कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मा तथा आफन्तहरूको उपस्थितिमा विवाद सिर्जना भएको र उपचारपछि प्रहरीमा हाजिर हुने सर्तमा उनलाई छाडिएको बताइएको छ।
यसअघि पनि वैशाख १३ गते श्रीवास्तवले मादक पदार्थ सेवन गरी श्रीमतीलाई रक्ताम्य हुने गरी कुटपिट गरेको आरोप लागेको थियो। उक्त घटनामा प्रहरीले सम्झाइबुझाइ गरी छाडेको स्रोतले जनाएको छ।

