अक्षत बहुउद्देश्यीय सहकारीको प्रथम बार्षिक साधारण सभा सम्पन्न


पालिका पत्र

५ कार्तिक २०८०, आईतवार १८:४२ मा प्रकाशित

कार्तिक ५ । कपिलवस्तु नगरपालिका ९ कुस्मा स्थित अक्षत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । कुस्मामै पहिलोपटक युवाहरुको सक्रियतामा स्थापना गरिएको सहकारीले छोटो समयमै उत्कृष्ट काम गरेको छ ।

संस्थाका अध्यक्ष दीपक पौडेलले यस क्षेत्रमा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको वताउदै यहाँका सवै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा जिल्लामै नमुना सहकारीको रुपमा स्थापित हुने वताए । उनले सहकारी स्थापनाको उद्धेश्य, सहकारी दर्ता गर्दा बखतको संघर्ष र आगामी कार्यक्रम योजना बारे जानकारी गराउँदै सहकारीको सांगठनिक व्यवस्था, प्रविधि मैत्री सेवामा बिस्तार, पछिल्ला प्रविधिसंगको सहकार्य लगायत विभिन्न बुँदाहरु पेश गरेका थिए ।

सहकारीले हाल जिल्लाका तीन पालिकामा आफ्नो कार्यक्षेत्र बिस्तार गरि काम गर्ने योजना सहित अघि बढिएको लेखा समिती संयोजक हरि प्रसाद खनालले बताए । कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिका गरि तीन पालिकामा सेवा क्षेत्र बिस्तार गर्दै लैजाने गरि सहकारीले आन्तरिक तयारी गरिरहेको उनले बताए । बि.सं. २०७९ श्रावण ९ गते स्थापना भएको सहकारीमा हालसम्म ७८ जना शेयर सदस्य रहेका छन् ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ । आर्थिक वर्ष २०७९/०८० को आषाढ मसान्तसम्म संस्थाको सेयर पुँजी २१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि लक्ष्मीनारायण पौडेलले वित्तीय कारोबार सँगै उत्पादनमुलक काम गर्न संस्थालाई आग्रह गरे । संस्थाले पहिलो वर्षमै आफूलाई अब्बल सहकारीको रुपमा स्थापित गरेको बताउँदै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न समेत उनले आग्रह गरे ।

सहकारीले पछिल्लो समयका प्रचलित मोबाइल भुक्तानी प्रणाली ई-सेवा र फोन-पे समेत सञ्चालनमा ल्याएको सहकारीका ब्यवस्थापक तारा खरेलले बताइन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडासदस्य बविता सुनार, लक्ष्मीनारायण पौडेल, नारायण प्रसाद पौडेल, यमलाल न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहकारीका सचिव शेखर शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्