बुद्धभूमिमा लाग्ने महोत्सव प्रवेशमा ज्येष्ठ नागरिकलाई शुल्क नलाग्ने


पालिका पत्र

६ मंसिर २०८०, बुधबार १८:२३ मा प्रकाशित

कपिलवस्तु, मंसिर ०६ । बुद्धभुमी नगरपालिकामा लाग्ने कृषि तथा पर्यटन महोतसव तथा प्रदर्शनीमा ज्येष्ठ नागरिकले निशुल्क प्रवेश पाउने भएका छन् । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले आगामी मंसिर १४ देखि २४ गतेसम्म लगाउने महोत्सवमा ज्येष्ठ नागरिकको परिचय पत्र भएका नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । संघका महासचिव पदम ढकालका अनुसार महिलाको खण्डमा ६८ बर्ष पुरा भएका र ७० बर्ष नाघेका पुरुषले ज्येष्ठ नागरिकको परिचय पत्र देखाएर निशुल्क प्रवेश पाउने छन् ।

संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्तीका अनुसार वृद्धवृद्धालाई मात्र नभएर अरु नागरिकलाई पनि छुट दिने ब्यवस्था मिलाइएको छ । एकल महिलाले एकल महिला खुल्ने प्रमाण पत्र देखाएर ५० प्रतिशत, विद्यार्थीले परिचय पत्र या स्कुल पोशाकको आधारमा ५० प्रतिशत छुट पाउने छन् भने अपांगता भएका नागरिकलाई पनि ५० प्रतिशत छुटको ब्यवस्था मिलाइएको अध्यक्ष धर्तीले बताए ।

महोत्सव नाफाको लागि मात्र लगाइन्छ भन्ने बुझाई रहेको अवस्थामा आफूहरुले नाफा मात्र नभई संघ सेवामुखी पनि छ भन्ने देखाउन यस्तो निर्णय गरिएको महासचिव ढकालले बताए । गोरुसिंगेमा लाग्ने महोत्सवमा यसपटक एक सय बढी स्टल रहने छन् भने स्थानीय स्तरमा उत्पादन भएका कृषि वस्तु, सामाग्री र उत्पादनको बजारीकरण र प्रदर्शनी हुने प्रचार प्रसार महासचिव ढकालले जानकारी दिए ।महोत्सवलाई बुद्धभूमि नगरपालिकाले पनि सहयोग गरेको छ । मेयर केशव कुमार श्रेष्ठले महोत्सव सफल पार्नको लागि सबैलाई अनुरोध गरेका छन् ।

महोत्सव मूल आयोजक समितिका अनुसार अहिले स्टल निर्माण, प्रचारप्रसार, सजावट लगायतको काम भइरहेको छ । मायाज होटलको उत्तरपश्चिमतर्फ खेतलाई तारबार गरी महोत्सवको तयारी भइरहेको छ । महोत्सवमा बाल उद्यान, बिभिन्न पींग, स्कुलस्तरयि नृत्य प्रतियोगिताहरु तथा स्थानीय र राष्टिय कलाकारको प्रस्तुति रहने बताइएको छ । महोत्सवबाट संकलन भएर बचेको पैसाले कपिलवस्तुका ब्लड क्यानसर पीडित पत्रकार दीपक केसीको उपचार तथा भुकम्पबाट प्रभावित जाजरकोटका नागरिकलाई राहत उपलब्ध गराइने अध्यक्ष घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्