तिलौराकोटलाई २०२५ भित्रै विश्व सम्पदामा सूचीकृत गर्ने अन्तिम बटमलाइन


८ मंसिर २०८०, शुक्रबार १९:३३ मा प्रकाशित

मंसिर ८ गते । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीले मूर्तरुप पाउँदैछ । बिश्व सम्पदा सूचीमा सूचीकृत सम्भाब्यता अध्ययनका लागि प्रमाण संकलनका कार्यको थालनीको करिब २९ बर्षपछि बिश्व सम्पदा सूचीमा सूचीकरणका लागि अन्तिम बटम लाइन तोकिएसँगै सिंगो कपिलवस्तुको मूहार फेरिनेमा आशा पलाएको छ ।

सन् १९९६ सालमा नेपालले तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा सूचीकरण गरेर यसको प्रमाण संकलन कार्य सुरु गरेको थियो । सन् १९९६ सालमा प्रस्ताव गर्दाको तुलनामा अहिले तिलौराकोटका बारेमा धेरै प्रमाण संकलन भइसकेको छ । प्राचीन शुद्धोधनको दरबार अहिलेको तिलौराकोट नै हो भन्ने धेरै प्रमाण संकलन गरिसकेको भए पनि यसको प्रक्रिया नै लामो रहेको पुरातत्व बिद्हरू बताउँछन् ।

सम्पदा सूचीमा सूचीकृतका लागि तिलौराकोटमा उत्खनन् सुरु भएको करिब २९ बर्षपछि सन् २०२५ को जुनरजुलाई महिना भित्रैमा सूचीकृत हुने अन्तिम बटमलाइन तोकेर अहिले काम निरन्तर भइरहेको छ । सुचीकृत गर्ने काममा ढिलासुस्ती देखिएता पनि हाल आएर यस्ले मुर्तरुप पाउँदैछ । २०२३ डिसेम्बर ३१ मा सूचीकृतको लागि सम्बद्ध टिम फ्रान्स प्रस्थान गर्ने तयारी छ । यद्यपि, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया गत नोभेम्बरबाटै सुरु भइसकेको छ ।

अब २०२४ को फेब्रुअरीमा अन्तिम चरणको मनोनयन दस्ताबेज बुझाउने तयारी भइरहेको छ । २०२५ सम्ममा विश्व सम्पदा स्थलमा सूचीकृत हुने लक्ष्य बनाइएको छ । अन्तिम मस्यौदाका लागि मंसिर ५ गतेदेखि १५ गतेसम्म तिलौराकोटमा निष्कर्षको लागि विज्ञहरु तथा सरोकारवालासँग लगातार छलफल गरिएको छ ।

सोहि अवसरमा नेपाल सरकारले विश्वको ठूलो खुला संग्रहालय दाबी गरेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारीको लागि शुक्रबार तिलौराकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, प्रोफेसर रोब्लन कोनिंघम, कोषप्रसाद आचार्य, नेपाल सरकारका सचिवसहितको अन्य अधिकारीहरूले तिलौराकोट दरबार क्षेत्रको भ्रमण गरेका हुन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकताअनुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो।

यस्तै, कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिद्धबता जनाएका हुन । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।

लुम्बिनी बिकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राई दोस्रो चरणको मनोनयन दस्ताबेजको कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको बताउछन् ।

यसरी हुन्छ सम्पदा सूचीकृत

विश्व सम्पदामा सूचीकृत हुन लामो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । युनेस्कोको मुख्य सल्लाहकार इन्टरनेसन काउन्सिल अन मनोमेन्ट एन्ड साइट्स (इकोमस) हो । निकै शक्तिशाली मानिने युनेस्कोको यो प्राविधिक समितिका विज्ञ र विशेषज्ञहरू प्रस्तावित सम्पदास्थलमा आफैं पुग्छन् । उनीहरूले नोमिनेसन डोसियरको अध्ययन र अनुसन्धान गरेर सुझावसमेत दिन्छन् । यही समितिलाई युनेस्को सभामा सम्पदास्थल राख्ने कि नराख्ने भन्ने निर्णयार्थ प्रस्ताव पेस गर्ने अधिकार हुन्छ ।

योजना अनुसार सबै काम भए नेपालले पेस गरेको अन्तिम नोमिनेसन डोसियार इकोमसबाट २०२४ को जुन–जुलाईमा हुने युनेस्को सम्मेलनमा पेस हुनेछ । सम्मेलनमा पेस भएको डोसियारमा थप कुरा मागिन पनि सक्छ । कोष उपाध्यक्ष डा. ल्हारक्याल लामाले भने, ‘सकभर आउँदो वर्षको सम्मेलनबाटै रिकनाइजेस हुन्छौं । नभए २०२५ मा त हुन्छौं नै ।’

युनेस्कोको १९५ मुलुक सदस्य रहे पनि मताधिकार भने २१ वटा राष्ट्रको मात्रै छ । नेपालले मताधिकार भएको राष्ट्रसँग साउदी अरब सम्मेलनमा पनि सहयोग मागेको छ । यो सबै प्रक्रिया बुझेका पदाधिकारीहरूका अनुसार युनेस्कोमा भारतको अर्थपूर्ण भूमिका रहेकाले उसले लिने अडानले तिलौराकोट युनेस्को सम्पदा सूचीमा रहने कि नरहने भन्ने कुरामा फरक पार्ने बताइन्छ । किनकि राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थको क्रीडास्थल तिलौराकोट प्राचीन कपिलवस्तुको विषयमा भारतको फरक मत छ ।

प्रतिक्रिया दिनुहोस्