नीति अनुसार विधि नबन्दा उद्योग धन्दा धराशायी भएः प्रशासकीय अधिकृत मरासिनी


पालिका पत्र

१० मंसिर २०८०, आईतवार ०७:४८ मा प्रकाशित

कपिलवस्तु, मंसिर १० । 

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नीति अनुसार विधि नबन्दा उद्योग धन्दा धराशायी भए बताएका छन् । उनले राज्य सञ्चालन गर्ने नीति, विधि र प्रविधिको सफल कार्यान्वयन आवश्यक पर्ने भएपनि नेपालमा आवश्यक नीति र नीति अनुसारको विधि नभएको बताए । सरकार पक्षले उचित विधि बनाउन नसक्दा अहिले अप्ठ्यारो स्थिति आएको उनको भनाई छ । उनले आफू बाणगङ्गा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका हैसियतले अब बाणगङ्गाले नीति र विधिलाई अवलम्बन गर्न बताए । यस्तै उनले  नगरपालिकाले अब केही समयमा औद्योगिक प्रोफाइल निर्माण गरी नगर भित्र रहेका औद्योगिक समस्या, चुनौती र सम्भावनाका बारेमा अध्ययन गर्ने जनाए । प्रशासकीय अधिकृत मरासिनीले वर्तमान अवस्थामा ठूला उद्योगीहरूले साना र मझौला उद्योगीहरूलाई ठुलो माछाले सानो माछालाई खाए जस्तो खाइरहेको बताए । यो स्थिति तत्काल नरोकिए केही वर्षमा उद्योग व्यवसायको क्षेत्र सङ्कटमा पर्ने उनको भनाई छ । 

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतमले कपिलवस्तु उद्योग व्यवसायको क्षेत्रमा प्रशस्त सम्भावना भएपनि व्यवस्थापन हुन नसकेको बताए । उनले भने ”अहिले व्यवसायको क्षेत्रमा सबै सकियो भन्दै आस मारिरहेको सुनिन्छ, त्यस्तो डर लाग्दो स्थिति आइसकेको छैन ।” उनले हामिले विदेशी ब्राण्डका कपडा लगायत विभिन्न वस्तुहरूको उपभोग गर्न मन पराउने बानी हटाएर स्थानीय उत्पादनलाई प्रोत्साह गर्नुपर्ने बताउनु भएको छ ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले सिङ्गो देशभर नै व्यवसायीहरू मारमा परिरहेको समयमा घरेलुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले वर्षेनी ठुलो सङ्ख्यामा बन्द हुँदै गैरहेका उद्योग तथा व्यवसायलाई रोक्न सरकारले विशेष योजना र कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिए । देशको अर्थतन्त्रलाई माथि उठाउन उद्योगी व्यवसायीहरूको विशेष भूमिका रहने भएपनि यस क्षेत्रको प्रवर्द्धनमा भने सरकार उदासिन रहेको उनले बताए ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले देशमा अहिले उद्योग व्यवसाय धमाधम बन्द भैरहँदा उद्योग दिवसको शुभकामना दिन पनि खल्लो लाग्ने बताए । उनले वाणगङ्गामा अलपत्र परेको औद्योगिक ग्रामको छिटो निर्माण गरेर सञ्चालन गर्न पनि नगरलाई आग्रह गरे।

त्यस्तै घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष फुल कुमारी श्रेष्ठले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्नुपर्ने बताइन। व्यवसायीका क्षेत्रलाई माथि उठाउनको लागि हामी सबै मिल्नुको विकल्प नरहेको उनले जनाइन । 

घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा, कपिलवस्तुको आयोजना तथा कपिलवस्तु उद्योग वाणिज्य संघको सह आयोजनामा भएको कार्यक्रममा उद्योगी व्यवसायी धुर्व नेपाल, तिलक पाण्डे लगायत विभिन्न व्यक्तिहरूले उद्योग व्यवसायीहरूको समस्याको बारेमा जानकारी गराएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु प्रसाद पोख्रेल को स्वागत तथा उद्यम विकास सहजकर्ता विनय कुमार सैनिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका कर्मचारी, कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, लगायत यस क्षेत्रका उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

यसैबीच घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अध्यक्ष प्रेम बहादुर गौतमलाई उद्योग वाणिज्य संघ कपिलवस्तुले स्वागत गरेको छ । केही महिना अघि सरुवा भएर आएका गौतमलाई उक्त कार्यक्रमका बिच स्वागत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्