बाणगङ्गामा मोटरसाइकल चोर्ने चोर सक्रिय, सचेत रहन प्रहरीको आग्रह


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १९:२६ मा प्रकाशित

जितपुर, मंसिर ११ ।

कपिलवस्तु जिल्लाको बाणगङ्गामा चोरीका घटना बढेको पाइएको छ । बाणगङ्गा बिभिन्न स्थानमा मोटरसाइकल, स्कुटर तथा गहना चोरी भएको घटना बाहिर आएपछि चोरीका घटनामा वृद्धि भएको पाइएको हो ।

बाणगङ्गा नगरपालिकामा विशेष गरेर पछिल्लो समय चोरले मोटरसाइकल चोर्ने गरेको पाइएको छ । बाणगङ्गा नगरपालिका वडा नम्बर १० कोरीयाचोकबाट मंसिर ५ गते लु ९१ प ६७७० नम्बरको मोटरसाइकल घरमै राखेको अवस्थामा रातको समयमा चोरी भएको छ । त्यस्तै मंसिर ५ गतेनै बाणगङ्गा ११ भड्डीहवा बाट लु ६० प ३२४५ नम्बरको मोटरसाइकल घर बाहिर राखेको अवस्थामा रातको समयमा चोरी भएको छ । त्यस्तै मंसिर १० गते राती बाणगङ्गा नगरपालिका २ राजपुरबाट  लु ९२ प ७९०३ स्कुटर चोरी भएको छ ।

यसका साथै नगरका केही स्थानबाट रातको समयमा गरगहना समेत चोरी भएको पाइएको छ । चोरले मोटरसाइकल चोरेर फरार भएपछि चोरलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पिपराले सक्रियता बढाएको छ । रातको समयमा घरभित्र सुरक्षित रुपमा मोटरसाइकल राख्न र चोरबाट बच्न सावधानी अपनाउन समेत इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजगं रायमाझिले आग्रह गरेका छन ।   घरबाट बाहिर जादा सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता गतिविधि नगर्न समेत प्रमुख रायमाझिले आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्