डेढ टनको घण्टी लुम्बिनीमा


पालिका पत्र

१२ मंसिर २०८०, मंगलवार १७:४३ मा प्रकाशित

लुम्बिनी, मंसिर १२ । शान्तिका लागि प्रार्थना गर्न बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका तीर्थयात्रीले निर्माण गरेको शान्ति घण्टी उद्घाटन गरिएको छ ।

कोरियाली बौद्ध परम्पराअनुसार संस्कृति तथा पर्यटनमन्त्री सुदन किराती र कोरियाली भिक्षु र उपासक उपासिकाले सामूहिक रुपमा घण्टीको उद्घाटन गरेका हुन् । कोरियन राष्ट्रिय पोसाक हाङबुकमा सजिएका उपासिकाहरुले अन्न, पानी, फलफूल, धुपको विशेष पूजा गरेर घण्टी बजाइएको थियो ।

कोरियाका प्रतिष्ठित भिक्षु सुनमुख हेजाको नेतृत्वमा १०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहको सहयोगमा डेढ टन तौलको तामाको घण्टी बनाइएको हो । घण्टीको प्रतिध्वनि टाढासम्म पुगेर शान्तिका लागि जागरुकता र सचेतना जगाउने भएकाले बौद्ध धर्ममा पवित्र र आस्थापूर्ण मानिन्छ । कार्यक्रममा कोरियालीलाई बुद्धस्थल लुम्बिनी भ्रमण गरेर शान्ति र सद्भावको पुण्य सञ्चय गर्न आग्रह गरेका थिए ।

लुम्बिनीस्थित साउथ पोन्डमा निर्माण गरिएको कलात्मक शान्ति घण्टी लुम्बिनीमा एउटा थप आकर्षण थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्