बाणगंगाका रुपक कार्की जो युक्रेनी सेनासंग लड्दालड्दै सधैँका लागि अस्ताए


पालिका पत्र

१९ मंसिर २०८०, मंगलवार १८:०० मा प्रकाशित

कपिलवस्तु, मंसिर १९। रुस युक्रेन युद्धको क्रममा मारिनेमा कपिलवस्तुका एक युवा पनि परेका छन् । बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोल निवासी २४ वर्षीय रूपक कार्की युक्रेनी फौजको आक्रमणमा परेर ज्यान गुमाएका थाहा भएको हो । रुपक २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता मानबहादुरले बताए ।

पिता मानबहादुरका अनुसार ‘आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर रुपक रुस उडेका थिए । रुपक रुस जानको लागि ‘विपन्न परिवारका मान बहादुरको १० लाखभन्दा बढी त खर्च नै भएको थियो । मान बहादुर भन्छन् ‘यस्तो विपत् आउला भन्ने कहिल्यै सोँचेको पनि थिइन्ँ ।छोराको यस्तो खबर सुन्दा अझै पत्यार लागेको छैन । ‘रूपकसँगै रुस पुगेका उनका एक साथीका अनुसार गत जुन अन्तिम साता भएको लडाइँमा परी उनको मृत्यु भएको हो ।

रूपक मान बहादुरका एक्ला छोरा हुन् । उनकी एक बहिनी रहेको परिवार श्रोत बताउँछ ।रुसी सेनामा भर्ती खुलेको जानकारी पाएपछि दुवै जनाले सँगै दरखास्त हालेर भर्ती भएको उनको भनाइ छ । उनका साथी पनि अहिले घाइते भएका छन् । सेनाको निगरानीमा रहेका उनले भनेका छन् ‘म हलिे सेनाको निगरानीमा छु । ‘म घाइते भएर सेनाको अस्पतालमा उपचाररत पनि छु, रुपकको ज्यानै गयो ।’ झन्डै एक वर्ष सँगसँगै कलेज गएको र पार्टटाइम काम गरेको उनले संचारमाध्यमलाई बताए ।

रुपकको घटना थाहा पाएपछि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी उनकै घरमा पुगेका छन् । उनले रुपकका बुबा मान बहादुरलाई भेट गरी पन्थीले सान्तवना दिएका छन् । पन्थीले परिवारको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
छिमेकी धातानन्द भुसालका अनुसार अहिले परिवारमा बज्रपात छ । परिवार र छिमेक नै शोकमा डुवेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्