देश लुट्ने छुट कसैलाई पनि छैनः नेता भण्डारी


पालिका पत्र

२१ मंसिर २०८०, बिहीबार २२:३१ मा प्रकाशित

पालिका पत्र, मंसिर २१ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता तथा सांसद चन्द्र भण्डारीले लामो इतिहास र ठूलो योगदान भएका दलहरूको पुनसंरचना नभए सिद्धिनु को विकल्प नरहेको बताएका छन् । उनले पार्टी र गुटको नाममा देशलाई लुट्ने छुट कसैलाई पनि नभएको बताए । उनले नेपालका हरेक राजनैतिक दलहरूले अब बाटो परिवर्तन गर्न आवश्यक रहेको बताए । १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । राजनैतिक दल र ति दलका नेताहरूको काम बाट जनताका जन अपेक्षाहरू पुरा हुन नसकेको भन्दै अब पनि नेताहरू नसुध्रिए जनता बाट गलत नेताहरूको विरुद्ध ठुलो विद्रोह हुने बताए । यस्तै उनले पछिल्लो समय देशको अर्थतन्त्र बिग्रिएको अवस्थामा बैंकहरूको ब्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्दा किसान र उद्योगीहरू बढी समस्यामा परेको औँल्याउदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भनेर उनले प्रश्न गरे । महोत्सवमा रहेका स्टलहरूमा स्थानीय उत्पादन हुनुपर्ने उनको भनाई छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके मात्र महोत्सवको औचित्य रहने सांसद भण्डारीले बताए । अहिले महोत्सव लागिरहेको बुद्ध रङ्गशालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्नुपर्ने बताए। पछिल्लो समय नेपाली खेलाडीहरूले विश्वभर नाम कमाई रहेको भन्दै खेल क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए ।

यता प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको जानकारी दिए । महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानीय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिए । साथै उनले फरक प्रसङ्गमा बोल्दै वर्तमान सरकार गठबन्धन टिकाउन मात्र सीमित रहेको बताउँदै जनताको आवश्यकतालाई कुनै सरोकार नराखेको दाबी गरे ।


त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरूको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताए । त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु युवा नेताहरूको आवश्यकता रहेको औँल्याएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै सांसद रूपा विक, प्रदेश सांसद विष्णु पन्थी, वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । 

त्यस्तै महोत्सव संयोजक तथा आयोजक संस्था बाणगङ्गा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघ संस्थाले सहयोग गर्ने बताए । उनले जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने महोत्सवको लक्ष्य रहेको बताए । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहीबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ । स्थानीय उत्पादन, कृषि, हस्तकला लगायतको स्टल रहेको छ ।


यसैबीच महोत्सवमा शुक्रबारदेखि अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता समेत हुने छ । यस्तै शुक्रबार अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोष, संगीता चितौरे लगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ । यस्तै शुक्रबार देखि नै १२ औ कपिलवस्तु डान्स आइडल प्रतियोगिता  सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्