आर्थिक सम्वृद्धिका लागि महाराजगंजमा पाँच ठुला परियोजना सञ्चालन


६ पुष २०८०, शुक्रबार १०:४२ मा प्रकाशित

पुष ६ गते । कपिलवस्तुको महाराजगंज नगरपालिकाको समग्र सम्वृद्धिका लागि पाँचवटा ठुला परियोजना सञ्चालन गरिएको छ । नगरप्रमुख अब्दुल कलामले नगरपालिकाको आर्थिक सम्वृद्धिका लागि यस बर्ष देखि ५ वटा ठुला पुर्वाधारका कार्यक्रम संचालन गरिएको जनाएका छन् ।

नगरपालिकाको १४ औ नगर सभाको शुभारम्भ गर्दै मेयर कलामले सो कुराको जानकारी दिएका हुन् । उनले आफुले टुक्रे र स–साना योजना भन्दा ५ वटा ठुला योजनाको शुभारम्भ गरेको जानकारी दिए । ती योजनाहरु ३ बर्षमा सम्पन्न गर्ने योजना छ । ३ करोड ६० लाखको अनुमानित लागत रहेको शान्तिनगर–जितपुर–दक्षिण कन्चनीया पुल सम्म कालोपत्रे सडक, ३ करोड ६० लाखकै हुलाकी सडक–दक्षिण ईट्राल सम्म सडक कालोपत्रे निर्माण गरिनेछ ।

यस्तै, २ करोड ३३ लाखको सोनबर्षा मुलसडक देखि कठौतिया सम्म सडक स्तरोन्नती, वडा नम्बर ५ सोनबर्षा कार्यालय देखि दुरुवा हुँदै हुलाकी फिडर निर्माण तथा फलहारीबावा बहुमुखी क्याम्पसमा १२३ कोठे भवन निर्माण गरिने प्रमुख कलामले बताए ।

यी सबै योजनााहरुको टेन्डर निकालिएको र यसै बर्ष देखि काम सुरु हुनेछ । उनले शिक्षा स्वास्थ्य क्षेत्रको समेत यस बर्ष थुप्रै काम हुने समेत बताएका छन् । पुरानो पहिचान भएपनि विकासमा पछि परेको महाराजगंजको भौतिक र आर्थिक विकासका लागि आफ्नो बाँकी रहेको साढे ३ बर्षे कार्यकालमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

आन्तरिक आय नभएको र बिगतको तुलनामा केन्द्र र प्रदेश सरकारले बजेट बिनियोजन नगरकोले काम गर्न गाह्रो परेको भएतापनि आफुले आँट गरेर काम अघि बढाइएको प्रमुख कलामले बताए । सोहि सन्दर्भमा, चालु आर्थिक बर्षको मंसिर महिना सम्म नगरपालिकाको आन्तरिक आय १७ लाख मात्र संकलन भएको जनाइएको छ ।

सभाका वडाध्यक्षहरुले मेयरले कामकाज गर्दै आफुहरुसँग समेत समन्वय गर्नु पर्ने बताएका थिए । वडाध्यक्ष कै मागका आधारमा वडाको आम्दानीलाई बित्तिय समानीकरणमा पठाउन समेत मेयर कलामले निर्देशन दिएका थिए ।

कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बजेटको संशोधन प्रस्ताव समेत पारित गरिएको छ । मेयर कलामको अध्यक्षता र बृजेश यादवको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरी, वडा नम्बर १ का अध्यक्ष प्रमोद चौधरी, ९ का वडाध्यक्ष फरिद अहमद मुसलमान, वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र कुमार केसी लगायतले पालिकाकामा प्रभावकारी रुपमा काम अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्