सिद्धार्थलाई दक्षिणी कपिलवस्तुमा कार्यक्रम विस्तार गर्न सुझाव


पालिका पत्र

29 September, 2026 7:32 pm मा प्रकाशित

बाणगंगा, १३ असोज ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले समुदाय रूपान्तरणका क्षेत्रमा गर्दै आएका काम प्रशंसनीय रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनुभएको छ ।

बाणगंगा नगरपालिका-४ ठाकुरापुरमा मंगलबार आयोजित संस्थाको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उहाँले बालबालिका, महिला, मुस्लिम समुदायका महिला, विपन्न वर्ग तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा संस्थाले उल्लेख्य काम गर्दै आएको बताउनुभयो ।

प्रमुख अतिथि आचार्यले सामाजिक परीक्षणजस्ता कार्यक्रमले संस्थाको पारदर्शिता र जवाफदेहिता स्पष्ट हुने बताउँदै जिल्लाको दक्षिणी क्षेत्रमा कार्यक्रम विस्तार गर्न सुझाव दिनुभयो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम गर्दै आएको संस्थाले पछाडि परेको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले फोहर व्यवस्थापन, प्लास्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरण तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । साथै बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थलको प्रचारप्रसारमा समेत संस्थाले योगदान गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । यस्तै विशिष्ट अतिथी बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले सिद्धार्थले समुदायमा गरेका कार्यक्रम प्रभावकारी रहेको भन्दै नगरपालिकासंगै रहेर विभिन्न कार्यक्रमहरु गरेको बताउनुभयो । समुदायलाई सचेत बनाउनका साथै उद्यमशिलतामा पनि जोड दिएको भन्दै कार्यक्रमलाई निरन्तारता दिनुपर्नेमा जोड दिनुभयो । समुदायका कार्यक्रमको लागि नगरपालिका सधै सहकार्यगरेर काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाले सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रमबाट विपन्न समुदायको जीविकोपार्जनमा सहयोग पुगेको बताएका थिए । उनीहरूले नागरिकलाई अधिकारसँगै जिम्मेवारी र कर्तव्यबोध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

संस्थाका कार्यक्रमलाई उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा थप केन्द्रित गर्नुपर्ने, पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्ने तथा शिक्षा रूपान्तरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव सरोकारवालाले दिएका थिए ।

कार्यक्रममा संस्थाअन्तर्गत सञ्चालित कार्यक्रमहरूको वार्षिक प्रगति प्रस्तुत गर्दै संस्थापक सदस्य पोमनारायण पौडेलले सिद्धार्थ सामाजिक विकास केन्द्र विगत ३० वर्षदेखि जिल्लामा क्रियाशील रहेको बताउनुभयो। उहाँका अनुसार हाल संस्थाअन्तर्गत सिकाइ परियोजना, रूपान्तरण, समा-समा परियोजना, बिलिफ परियोजना र एलआरपी परियोजना गरी पाँचवटा परियोजना सञ्चालनमा छन् ।

कार्यक्रममा जिल्ला समन्य अधिकारी जर्नादन अधिकारी, इलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बाबुराम शर्मा, गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकास पाण्डे, सिद्धार्थका पूर्व अध्यक्ष सूर्य कुमारी शाहीविभिन्न राजनीतिक दलका प्रतिनिधि, तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष त्रिलोचन घिमिरेले सहभागी तथा सरोकारवालाबाट प्राप्त सुझावलाई सम्बोधन गर्दै आगामी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो। उपाध्यक्ष शोभा आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दुर्गा अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्