कपिलवस्तुः शिकारी र वन रक्षक विच गोली हानाहान, एक शिकारी पक्राउ


पालिका पत्र

७ पुष २०८०, शनिबार १२:०१ मा प्रकाशित

कपिलवस्तु, पौष ०७  । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको क्षेत्रमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा बिहीवार झडप भएको हो ।

साझेदारी वनको बि वान सिक्स सि वान सब कम्पाटमेन्टमा पुग्ने क्रममा गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थियो । सो पश्चात वन गस्ति टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर शिकारी समूहलाई घेरा हालेको थियो । सो क्रममा १२र१४ जनाको समूहमा ३र४ वटा बन्दुक सहित रहेका शिकारी टोलीले रेन्जर दिलिप यादव नेतृत्वको गस्ती टोली लक्षित गरि ६र७ राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि गस्ती टोलीले शिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि शिकारीहरू भागेका थिए ।

गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर ७ धैरेनीडाडा बस्ने बर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका परियारबाट टोलीले भरुवा बन्दुकमा लाग्ने २ राउण्ड गोली बरामद गरेको छ । नियन्त्रणमा लिएका उनलाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाईएको र उनी उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको सव वन डिभिजन कार्यालय गोरुसिङ्गेका वन अधिकृत बसन्त थापाले जानकारी दिए ।

पछिल्लो समय तिलौराकोट साझेदारी वन क्षेत्रमा वन संरक्षण सम्बन्धि कार्य अगाडी बढ्नुका साथै वन डढेलो घट्दा जैविक बिबिधता बढेको छ । जसका कारण वनको स्थितीमा सुधार आई वन्यजन्तुको शिकारीको जोखिम पनि बढदै गएको छ । अहिले सो साझेदारी वन क्षेत्रमा हरिण, बदेल, निलगाई, दुंसी, मयुर र बन कुखुरा बढेका छन । त्यसै गरि सो वनमा चितुवा समेत देखिने गरेको छ ।

वनमा जैविक बिबिधता बढे सगै वन्यजन्तुको शिकारीको जोखिम बढेकाले गस्ती र निगरानी बढाईएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले जानकारी दिए । पछिल्लो दुई बर्षमा वन क्षेत्रमा सो घटना पहिलो भएको र बन्यजन्तुको शिकार गर्नका लागी शिकारीहरू गएको हुन सक्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले बताए । भरुवा बन्दुकको गोली सहित फेला परेका व्यक्तिलाई हातहतियार खरखजाना मुद्दा चलेको जानकारी दिँदै सो समुह बारे आवश्यक अनुसन्धान अगाडी बढेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्