सगरहवाको इतिहास खोतल्ने गरी राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै


११ पुष २०८०, बुधबार १०:०९ मा प्रकाशित

पुष ११ गते । प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन ऐतिहासिक कपिलवस्तुको सगरहवामा कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदैछ। लुम्बिनी र कपिलवस्तुको तिलौराकोटको समिपमै रहेर पनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा पन्ध्र दिने राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो ।

पुस २३ गतेदेखि माघ ८ गतेसम्म हुने कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने गरी मूर्तीकला कार्यशाला गर्ने तयारी गरिएको हो ।

मंगलबार कोष सहित प्रदेश सांसद, स्थानीयतहका जनप्रतिनिधि, कपिलवस्तु राष्ट्रिय मूर्ती कार्यशाला उपसमितिका संयोजकहरु सहितको बैठकले कार्यशालाको मितिसँगै तयारीका कामहरु गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री विष्णु पन्थीले कपिलवस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्ती कार्यशालाले यसको प्रवर्द्धन गर्ने बताए । 

गौतमबुद्धले २९ वर्ष विताएको तिलाैराकोट दरवार सहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताउँदै अब कपिलवस्तुको विकास नरोकिने बताए । उनले सगरहवा सहित कपिलवस्तु नगरपालिकामा रहेका बुद्धकालिन स्थलहरुको संरक्षणका लागि लुम्बिनी विकास कोषसँगै प्रदेश र स्थानीय सरकारविच सहकार्य शुरु भएको समेत बताए ।  उनले सगरहवा प्राचिन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानिसहरुलाई थाहा हुने बताए ।

लुम्बिनी कोषका कोषाध्यक्ष एंव मूर्ती कार्यशाला निर्देशक समितिका संयोजक सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले सगरहवा ऐतिहासिक र पुरातात्विक स्थल रहेको र यसको प्रवर्द्धनका लागि स्थानीयहरुको अपनत्व हुने गरि कार्यशाला गर्न खोजिएको बताए ।

यस अघि कार्यशाला गर्ने तयारी गरेको तेस्रो प्रयासमा आउदो पुष २३ गतेदेखि गर्ने निर्णय सरोकारवालले गरेका छन् । गत फागुन २३ गतेदेखि कार्यशाला गर्ने तयारी थालेकाे काेषले चैत्र २३ देखि वैशाख ७ गतेसम्म गर्ने निर्णय गरेकाे थियाे । लगत्तै मंगलबार सराेकारवालाकाे बैठक बस्दै सगरहवामा कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला गर्ने तयारी थालिएकाे हाे ।

कलाकारहरूले भगवान् बुद्धको जीवनसँग जोडेर सगरहवाको कथालाई ढुंगामा कुँदेर उतार्ने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पाैडेलले जानकारी दिए । कपिलवस्तुकाे बिकास नै पर्यटकीय क्षेत्र र पुरातात्विक क्षेत्रहरुको संभार र संरक्षणबाटै हुने भएकाले अब नगरपालिकाले आफ्नो गतिमा काम गर्ने समेत जनाए ।

सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर उत्तर जगदीशपुर तालको पश्चिम दक्षिणमा रहेको सगरहवा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण स्थल मानिन्छ। चिनियाँ स्रोतले उल्लेख गरेअनुसार यहाँ ९ हजार ९ सय ९९ शाक्यहरूको सामूहिक बध गरिएको थियो। कतिपयले भने यहाँ ७७ हजार शाक्यहरूको महाविनाश गरिएको बताउने गर्छन्।

सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले आफनो यात्रा विवरणमा सगरहवामा हजारौं शाक्यहरूको सामूहिक बध गरिएको उल्लेख गरेका छन्।

इतिहासमा लेखिएअनुसार राम्रो कुल मानिने शाक्य गणराज्यसँग नाता सम्बन्ध गाँस्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराइएको थियो। त्यहाँ उनको बासभ खत्तियासँग विवाह भएको थियो। प्रसेनजितका छोरा विरूद्धक आफ्नो मामाघर प्राचीन कपिलवस्तु तिलौराकोटमा आउँदा उनले खाएको ठाउँमा लिपपोत गरेर दूधले धोएर चोख्याइएको देख्छन्।

आफूले खाएको स्थान लिपपोत गरेको देखेपछि सोधीखोजी गर्दा विरूद्धकले आफ्नी आमा दासीपुत्री भएको र आफू दासीपुत्रीको पुत्र भएकोले यस्तो गरेको थाहा पाएपछि शाक्यहरूको महाविनाश गर्ने कसम खान्छन्।

सोही प्रतिशोधपछि विरूद्धक शाक्य राज्यमा आक्रमण गरी दश हजार शाक्यहरूको बध गरी एकै चिहानमा गाडेको बौद्ध इतिहासमा उल्लेख गरिएको छ। सोही स्थान हो अहिलेको सगरहवा। पहिले ठूलो आकारको तलाउ रहेको सगरहवामा अहिले तलाउको आकार पनि साँघुरो बन्दै गएको छ। स्थानीयहरू सगरहवालाई लम्बुसागरको रूपमा पनि चिन्ने गर्छन्।

सन् १८९७ मा जर्मन सर्भेयर डाक्टर फुहररले सगरहवामा उत्खनन् गरी पोखरीको दक्षिणतर्फ ८ र पश्चिमतर्फ ९ वटा स्तुप फेला पारेका थिए। त्यसमध्ये १२ स्तुपमा अस्तु पात्र समेत भेटिएको थियो।

सन् १८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले सगरहवाको नक्सा बनाएका थिए। मुखर्जीले बनाएको नक्सामा सगरहवाको पोखरीको पश्चिमतर्फको खाल्डोमा ४९ वटा ससाना कोठा रहेको उल्लेख छ। त्यसयता भने सगरहवाको उत्खनन् हुन सकेको छैन। 

शाक्यहरूको सामूहिक विनाश गरिएको स्थल भएकोले सगरहवासँग शाक्य वंशहरूको दुःखको सम्बन्ध जोडिएको छ। यहाँ आउने बौद्ध तिर्थालुहरू अकालमा मारिएका शाक्यहरूको आत्माको चीर शान्तिको कामना गर्छन्।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को ७४.८२ बिघा क्षेत्रफलमा रहेको सगरहवाको यही इतिहासलाई बाहिर ल्याउने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। मूर्तिकला कार्यशालाले सगरहवाको इतिहासलाई उजागार गर्ने मात्र होइन त्यहाँको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्