ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण


पालिका पत्र

२० पुष २०८०, शुक्रबार १६:५७ मा प्रकाशित

रुपन्देही, पौष २० ।
अंग्रेजले पराजय भोगेको स्थल बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जितगढी किल्ला बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै जितगढी किल्ला किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ ।

समारोहमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताए । किल्लाको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै राष्ट्रपतिले प्रशंसा गरे ।

जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको योजना सह्रानीय रहेको उनले बताए । राष्ट्रपति पौडेलले जितगढी किल्लालाई नयाँ पुस्ताको अध्ययन अवलोकनका साथै अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा समेत जोड दिए ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र मानेर आसपासका पर्यटन क्षेत्रलाई एउटै सर्किटमा जोड्न आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई छ । रामापिथेकश, सहश्रधारा, हिलपार्क हुँदै जितगढीसम्म एउटै पर्यटन सर्किटको रुपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासमा महत्ववपूर्ण इटा थपिन्छ”–उनले भने ।

हस्तान्तरण भएपछि उपमहानगर प्रमुख खेलराज पाण्डेयले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने बताए ।

“यो किल्ला हामी मातहतमा आएसँगै हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं”–उनले भने–“यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।”

किल्लाक्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्लाको संरक्षणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । समारोहमा इतिहासविद निर्मल श्रेष्ठले जितगढी किल्लाको इतिहासबारे जानकारी गराएका थिए । त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले जितगढीको विकासका लागि थालेका प्रयासबारे जानकारी गराएकी थिइन् ।

बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्