बुद्धभूमिमा २ दिने निःशुल्क आँखा शिविर, १ हजार ५ सय ७८ जना लाभान्वित


पालिका पत्र

२१ पुष २०८०, शनिबार २१:५१ मा प्रकाशित


बुद्धभूमि, पौष २१ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको २ दिने निःशुल्क आँखा शिविरमा १ हजार ५ सय ७८ जना लाभान्वित भएका छन् । यही पौष १९ र २० गते वडा नम्बर ९ ईमिलियामा अवस्थित बरकलपुर स्वास्थ्य चौकीमा आँखा शिविर भएको हो । जसमध्ये ८५ जना महिला र ६१ जना पुरुष गरि १४६ जनामा मोतियाविन्दु देखिएको र उनीहरुको निशुल्क अप्रेसन गरि औषधी समेत दिएको वडा नम्बर ९ का वडाध्यक्ष प्रमोद आचार्यले बताए । उनले आँखा जाँच गराएका १५७८ जनामध्ये आवश्यकताका आधारमा ५ सय ४९ जनालाई निशुल्क चस्मा वितरण गरिएको बताए ।

नगरप्रमुख केशवकुमार श्रेष्ठले नगरपालिका नगरवासीको स्वास्थ्यप्रति संवेदनशिल भएर लागेको बताए । नगरवासीको स्वास्थ्य आवश्यकतालाई मध्येनजर गर्दै विभिन्न समय र स्थानमा नगरपालिकाले शिविरहरु गर्दै आएको उनले बताए । स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख श्रेष्ठको भनाई छ । उनले मोतियाबिन्दुका कारण दुबै आँखा देख्न नसक्ने स्थिति आउन नदिन नगरपालिकाले शल्यक्रियासहितको शिविर आयोजना गरेको प्रस्ट पारे । शल्यक्रियाले अन्धोपनाबाट ग्रसित हुने स्थिति आउन नदिने र पुन आँखाको दृष्टि फर्काउन सकिने उनले बताए ।

बुद्धभूमि नगरपालिका–९ की शारदा पाण्डेले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको बताईन् । आँखा देख्न नसक्दा समस्या भएको बताउँदै उनले भनिन् ‘बुढ्यौली लागेपछि यसै पनि आँखा देखिँदैन तर मेरो त मोतियाविन्दु भएकाले देख्न नसक्ने भएँ । अप्रेसनपछि आँखा देख्न सक्ने भएकी छु । धेरै खुसी लागेको छ ।’

अर्की सरिता थारुले पनि ८० वर्षको उमेरमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको बताईन् । शिविर नगरपालिकाको आर्थिक सहयोग र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुगंजको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्