वडाध्यक्ष गिरी सहितको टोली विपन्नको घरमा, सहयोग सामग्री प्रदान 


पालिका पत्र

१४ माघ २०८०, आईतवार ०८:३३ मा प्रकाशित

कपिलवस्तु, माघ १४ । 
श्रीमान गुमाएको पीडा भुल्न नसकेकी बाणगङ्गा ७ धैरेनी डाडा की ६३ वर्षीया मनुका घर्ती मगरलाई जीवनको उत्तरार्धमा एक मात्र साहरा छोरा गुमाउनुको पीडा अकल्पनीय छ । त्यसैमाथि गरिबी र जाडो को सास्ती सहिनसकिने छ । जीवनको १ मात्र साहरा एक मात्र छोरा भक्त बहादुर घर्ती परिवारको छाक टार्न र चुहिने छानो टाल्न मजदुरीमा हिडेका बखत गुल्मी रिडीको जङ्गलमा पहाडको भिरबाट खसेर ज्यान गुमाएपछि यतिबेला परिवारमा बज्रपात परेको हो ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नंं. ७ वडा कार्यालयले आकस्मिक रुपमा वडाको विपन्न परिवारलाई विभिन्न सामग्री प्रदान गरेको छ । काजक्रियामा समेत आर्थिक अभाव खड्किएको थियो । जस्का कारण उनकी श्रीमती २४ बर्षिया लक्ष्मी घर्ती र उनकी आमा कठ्याङ्ग्रिदो जाडोमा आगो तापेर दिन बिताउन बाध्य थिए । जेनतेन ठडिएको घर न घाम छेक्ने न छाहारी ओड्ने ओछ्‌याउने समेतको त कुरै छोडौँ सुत्ने खाट समेत नहुँदा चिसो याममा भुईँमै सुत्नुपर्ने बाध्यता थियो ।

यस्तो अवस्था थाहा पाएपछि वडाध्यक्ष विष्णु गिरीको नेतृत्वमा वडा नंं. ७ का जनप्रतिनिधिहरू एक/एक वटा फलामको खाट, बिछ्यौना, सिरानी, सिरक जस्ता तत्काल आवश्यक पर्ने सामग्रीहरू लिएर घर पुगेका थिए । साथै घर चुहिनबाट जोगाउनका लागि तत्काल त्रिपालको व्यवस्था गरिदिने र नागरिक आवास कार्यक्रम मार्फत घर समेत निर्माण गरिदिने वडाध्यक्ष विष्णु गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२४ वर्षकै उमेरमा छोरा छोरी समेत नहुँदै लक्ष्मी एकल हुन पुगिन स्थानीय समाजसेवी भीम बहादुर थापा ले भने भगवान पनि गरिबी र दुःखी भएकाहरू माथि निर्दयी बन्यो । अहिले आफ्नो सङ्कटमा साथ पाएकोमा मनुका लाई वडाध्यक्षको भरोसाले आशा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्