खोरेत रोगविरुद्धको अभियान : कपिलवस्तुमा भ्याक्सिन बैंक स्थापना गर्ने तयारी


२५ माघ २०८०, बिहीबार १७:५० मा प्रकाशित

कपिलवस्तु, माघ २५ गते । कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन गरिएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले तौलिहवामा राखेको खोरेत रोग उन्मुलन अभियान भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।

केन्द्रका प्रमुख डा. प्रवेज आलमका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ देखि नै खोरेत रोग निवारण अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताए । जसअन्तर्गत चालु आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा पहिलो चरणमा ५० हजार पशुहरुमा खोरेत विरुद्धको खोप अभियानको सुरुवात गरिएको उनले बताए ।

साथै अर्को चरणको अभियान सञ्चालन गर्न थप ५० हजार पशुहरुमा खोप लगाउने योजना रहेको उनको भनाइ छ । उनले भने, “खोप लगाउनको लागि ५२ जना भ्याक्सिनेटरहरुको परिचालन गरिएको छ ।” महामारीका रुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको प्रमुख आलमले बताए ।

खोप लगाए वापत भ्याक्सिनेटरहरुले प्रति पशु १५ रुपियाँ र सफ्टवेयर इन्ट्री गरेबापत रु. १० गरी पच्चिस रुपियाँ पाउनेछन् । भ्याक्सिनेटरहरु कृषकहरुको गोठमै गएर निःशुल्क रुपमा खोप लगाउने छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख लोकराज भुसालले खोरेत रोग भाइरसका कारण खुर भएको जनावरहरुबाट खोरेत रोग फैलिने गरेको बताए । खोरेत रोग खुर भएका गाई, भैँसी, घोडा, भेडा लगायतका पशुहरुको स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको उनको भनाइ छ । उनले खोरेत रोग नियन्त्रणका लागि प्रदेशमै बृहत् अभियान विगतका वर्षदेखि नै सञ्चालन हुँदै आएको बताए ।

जिल्लाको बाणगङ्गा नगरपालिकामा ६ हजार ५ सय, शिवराजमा ५ हजार ५ सय, महाराजगञ्ज, बुद्धभूमि र कृष्णनगर नगरपालिकामा ५/५ हजार, कपिलवस्तुमा ४ हजार ५ सय खोरेत खोप वितरण गरिएको छ । त्यस्तै, जिल्लाको मायादेवी गाउँपालिकामा ४ हजार ५ सय, शुद्धोधन र विजयनगर गाउँपालिकामा ५/५ हजार र यशोधरा गाउँपालिकामा ४ हजार खोप पठाइएको छ ।

हाल लुम्बिनी प्रदेशका तीन क्षेत्र परासी, पाल्पा र नेपालगंजमा भ्याक्सिन बैंक संचालनमा रहेको डा. आलमले बताए । आगामी बर्ष कपिलवस्तुमा समेत भ्याक्सिन बैंक संचालन गर्ने गरि तयारी थालिएको उनले बताए ।

खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नु लगायतका लक्षण देखापर्ने गर्दछन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरुबाट फैलिने गरेको पशु प्राविधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्