समृद्ध विजयनगरको लागि प्रदेश र संघीय सरकार सँग निरन्तर सहकार्यमा छौंः अध्यक्ष थापा

गाउँपालिकाको वित्तिय प्रगति २५ प्रतिशत भएको निष्कर्ष


पालिका पत्र

२६ माघ २०८०, शुक्रबार २१:०० मा प्रकाशित

कपिलवस्तु, माघ २६ ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँसभाको चौथौ अधिवेशन ( हिउँदे अधिवेशन ) सम्पन्न गरेको छ । गाउँपालिकाले बिहीबार “कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारः विजयनगरको समृद्धिको आधार” भन्ने मूल नारासहित गाउँसभाको चौथौ अधिवेशन गरिएको छ । आर्थिक वर्ष २०८० / ०८१ पुस मसान्तसम्मको प्रगति प्रतिवेदन, रकमान्तर तथा श्रोतान्तर प्रस्ताव अधिवेशनबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीद्वारा पेश गरिएको प्रगति प्रतिवेदन, रकमान्तर तथा श्रोतान्तर प्रस्ताव उपर छलफल भई सर्वसम्मत पारित गरिएको छ । हालसम्मको वित्तीय प्रगति कुल २४ / २३ प्रतिशत रहेको र ठेक्का व्यवस्थापन भएका योजनाहरूको भुक्तानी माग नभएकोले न्यून प्रगति देखिएको छ । विभिन्न शाखा तथा वडा कार्यालयबाट विनियोजन ऐन २०८० बमोजिम प्राप्त रकमान्तरको प्रस्तावलाई पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।


विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगरको समग्र समृद्धिका लागि प्रदेश, संघीय सरकार र सम्बन्धित निकायसँग निरन्तर लागिरहेको बताएका छन् । उनले गाउँपालिकाको उपलब्ध स्रोतबाट आवश्यकता अनुसार बजेट विनियोजन गरेर गाउँपालिकाको विकासलाई निरन्तरता दिइरहेको बताए । गाउँपालिकाको परिवर्तनका लागि सामाजिक विकासमा जोड दिएको अध्यक्ष थापाको भनाई छ । 

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नेपालमा संघीय प्रणाली असमानताको न्यूनीकरण गर्न, वञ्चितीकरणलाई अन्त्य गर्न, विभेदको अन्त्य गर्न, क्षेत्रगत असन्तुलन हटाउन, साधन स्रोतको न्यायिक बाँडफाँड हुन, स्थानीय स्तरका समस्याहरू स्थानीय स्तरबाटै प्राथमिकता निर्धारण गरी समाधान गर्न, स्थानीय तहमा अधिकार र स्रोतको निक्षेपण गरि जनताको नजिकबाट शासन सञ्चालन भई जनताको जीवनस्तरमा सुधार गर्न आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्