कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा ६१ मत अन्तरले क्षेत्री विजयी 

वरिष्ठ उपाध्यक्ष र महासचिव पनि संयुक्त प्यानलका उम्मेदवारको जित 


पालिका पत्र

२८ माघ २०८०, आईतवार १३:३६ मा प्रकाशित

बाणगंगा, माघ २८। कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालको लागि  नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको चुनावको आइतबार अन्तिम नतिजा घोषणा हुँदा अध्यक्षमा संयुक्त प्यानलका गणेश बहादुर क्षेत्रीले ६१ मत अन्तरले बिजयी भएका छन । यस्तै उक्त प्यानलका  हुमानाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा  र नवदत्त घिमिरे महासचिवमा  विजयी भएका हुन । 

अन्य पदमा भने मिश्रित नतिजा आएको छ । एउटा उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिवमा र केही क्षेत्रगत सदस्य लगायतमा मोहन न्यौपाने प्यानलका उम्मेदवार विजयी भएका छन्।

अध्यक्ष क्षेत्रीले ९ सय १२ मत हासिल गर्दा प्रतिद्वन्दी मोहन न्यौपानेले ८ सय ५१ मत हासिल गरे ।  यसैगरी वरिष्ठ उपाध्यक्षमा पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले ८ सय ८१ मत हासिल गर्दा पराजित भएका वीरेन्द्र खाँणले ७ सय २४ मत हासिल गरे । स्वतन्त्र प्यानलका देवीलाल कँडेलले १ सय २९ मत हासिल गरेका छन्।

यस्तै महासचिव पदमा साझा प्यानलकै नवदत्त घिमिरेले ९ सय ७७ महत हासिल गरे । घिमिरेका प्रतिद्वन्दी मदन पौडेलले ९ सय ३३ मत हासिल गरेका थिए । 

यस्तै उद्योग उपाध्यक्षमा गठबन्धनका खुमानन्द घिमिरे ९ सय ५८ मत हासिल गरी विजयी भए । घिमिरेका प्रतिद्वन्दी रविन्द्र पौडेलले ९ सय २८ मत हासिल गरे ।

यस्तै वाणिज्य उपाध्यक्षमा न्यौपाने प्यानलका नारायण पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले १ हजार २ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले ६ सय ६३ मत मात्र प्राप्त गरे ।

यस्तै वस्तुगत उपाध्यक्षको ११ मतमा शालिकराम भुसाल ६ मत हासिल गरी विजयी भए । उनका प्रतिद्वन्दी रनेन्द्र सेनले ५ मत हासिल गरी १ मतले पराजित भए । यस्तै एसोसिएट उपाध्यक्षमा ५६ मत हासिल गरी रामजि सेन विजयी भए । प्रतिद्वन्दी बुद्धिराम पौडेलले ३१ मत हासिल गरेका थिए । महिला उपाध्यक्षमा मिना पोख्रेल ८ सय ९१ मत हासिल गरी विजयी भइन् ।

यस्तै कोषाध्यक्ष र सह कोषाध्यक्षमा न्यौपाने प्यानलका धीरज खनाल र कृष्ण प्रसाद गैरे विजयी हुँदा सचिवमा पनि न्यौपाने प्यानलकै दामोदर पन्थी विजयी भएका छन् । यस्तै अन्य सदस्य पदमा पनि मिश्रित नतिजा आएको छ ।


मोहन न्यौपाने प्यानल एमाले निकट रहेर चुनावमा होमिएको थियो । यस्तै  गणेश बहादुर क्षेत्री निकट संयुक्त प्यानलमा  काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन गरी साझा प्यानल चुनावी प्रतिस्पर्धामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्