बाणगङ्गामा अखडा जमाएर कुर्चीको अवैध कारोबार, ६ जना पक्राउ


पालिका पत्र

७ फाल्गुन २०८०, सोमबार २१:३८ मा प्रकाशित


बाणगङ्गा, फागुन ०७ । 
प्लाष्टिकका कुर्चीको अवैध कारोबार गर्ने गिरोहमाथि इलाका प्रहरी कार्यालय पिपराले छापा मारेको छ । वाणगङ्गा नगरपालिकाको वडा नम्बर ४ ठकुरापुरको एक घरको कोठालाई अखडा बनाएर प्लाष्टिकका कुर्चीको अवैध कारोबार गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेको हो ।

छापाको क्रममा ठुलो परिमाणमा कुर्ची, कुर्ची बोक्न प्रयोग हुन साइकल पनि प्रहरीले बरामद गरेको घटनास्थलमा रहेका स्थानीयले जानकारी दिए । समाचार श्रोतका अनुसार अवैध कारोबारमा ठुलै गिरोह नै संलग्न छ । उनीहरूले बाहिरबाट अवैध ढंगबाट कुर्चीहरू ल्याएर साइकल मार्फत गाउँगाउँमा लगेर बेच्ने गरेका थिए ।

घटनास्थलबाट अहिले ६ जनालाई पक्राउ गरिएको र उनीहरूको १५ / १७ जनाकै टोली रहेको हुन सक्ने प्रहरीले बताएको स्थानीयले बताए । यसबारे अनुसन्धान भइरहेकाले विस्तृत जानकारी पछि दिने प्रहरीले जनाएको छ ।

कहिलेदेखि यस्तो कारोबार हुन थालेको थियो भन्ने अझै खुलेको छैन । वाणगङ्गामा कुर्चीको मात्र नभएर अन्य सामानको पनि यसैगरी कारोबार हुँदा व्यापारीहरू मर्कामा पर्ने गरेका छन् । खुला सिमानाकाका कारण यस्तो समस्या रहेको व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्