देवदह नगरपालिकाका प्रमुख प्रशासकीयलाई जबरजस्ती बाहिर निकालेर लगाइयो ताला


पालिका पत्र

१४ फाल्गुन २०८०, सोमबार १५:५० मा प्रकाशित

देवदह, फागुन १४ । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा काँचको टेबल समेत फुटेका छन् । स्थितीलाई नियन्त्रणमा लिन खोज्दा कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको थियो ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् । देवदहमा खेलकुद बिकास समितिको संयोजक तथा सदस्य छनोटको विषयमा असहमती जनाउँदै उनीहरुले आन्दोलन अघि बढाएको बताएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरिएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्याक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विना राजश्व छाडीएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्